इटहरी/ झापा, धनकुटा र सुनसरीमा गरेर थप १७ जनामा कोरोना भाईरस पुष्टि भएको छ । थप १७ जनामा कोरोना भाईरसको संक्रमण देखिएसँगै प्रदेश नम्बर एकमा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या ७६ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार बिहान (आज) सार्वजनिक गरेको बिज्ञप्तीमा धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षण अनुसार झापा, धनकुटा र सुनसरीमा थप १७ जनामा कोरोना भाईरस पुष्टी भएको उल्लेख छ।

बिज्ञप्तीमा झापाको कचनकवल गाउँपालिकाको ३, ६ र ८ नम्बर वडाका १८, १९, २३, २६ बर्षीय दुई/दुईजना पुरुषमा र २२, २५, २८, ३०, ३२, ३७, ४६ बर्षीय एक/एकजना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो। झापामा संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५जना हुन्। यस्तै धनकुटाका ३४ बर्षीय पुरुष र सुनसरीको धरानकी ५१ बर्षीय महिलामा संक्रमण देखिएको हो।

प्रदेश एकमा ७६ जनामा संक्रमण देखिँदा उदयपुरका ३३ जनामा संक्रमण देखिएकोमा २३ जना उपचारपछि फिर्ता भएका छन्। झापाका २७ जनामा संक्रमण हुँदा २ जना उपचारपछि फिर्ता भएका छन्। भोजपुरमा एकजनामा संक्रमण भएकोमा उनि स्वस्थ्य भएर फर्किसकेका छन् । यस्तै धनकुटामा ७ जनामा, मोरङका ४जनामा, सुनसरीमा ३ जनामा र खोटाङका एकजनामा कोरोना भाईरसको संक्रमण देखिएको छ।

प्रदेश १ मा कोरोना भाईरस पुष्टि भएकाहरुको संख्या ७६ पुग्दा निको हुनेहरुको संख्या २६ पुगेको छ। बुधबार मात्र ८ जना निको भएर घर फर्किएका छन्।