इटहरी/ धनकुटामा मंगलबार पुनः पाँचजना संक्रमित थपिएसँगै प्रदेश एकमा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या ५९ पुगेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप पाँचजनामा संक्रमण पुष्टि भएको हो।

प्रतिष्ठानको उच्च श्रोतले दिएको जानकारी अनुसार मंगलबार राती आएको रिपोर्टमा एकजना महिला र चारजना पुरुषमा संक्रमण पुष्टि भएको हो। जसमध्ये तीनजना स्वास्थ्यकर्मी, एकजना सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका श्रीमान हुनुहुन्छ।

उच्च श्रोतले दिएको जानकारी अनुसार ३४ बर्षकी महिलासहित २८, २९, ३५ र ३७ बर्षीय पुरुषमा संक्रमण भएको रिपोर्ट आएको छ। यद्यपी थप पाँचजनामा देखिएको संक्रमणको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छैन।

तीनदिन अघि धनकुटामा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएपछि अस्पताल तथा उनिसँग सम्पर्कमा आएकाहरूको स्वाब संकलन गरि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको हो।

धनकुटामा यो संख्यासहित संक्रमितको संख्या ६ पुगेको छ। प्रदेश एकमा १७ जना उपचारपछि घर फर्किसकेका छन्।

छुटाउनुभएको छ भने यो पनि

सुनसरीमा थप दुईजनासहित प्रदेश नम्बर १मा ५४ जना कोरोना संक्रमित