इटहरी/ सुनसरीमा थप दुईजनासहित प्रदेश नम्बर १ मा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या ५४ पुगेको छ । प्रदेश एकमा सुनसरीका दुईजनामा र झापाका ९ जनामा गरेर थप ११ जनामा संक्रमण पुष्टि भएको जनाइएको हो ।

परीक्षणका क्रममा खोटाङ्ग घर भई सुनसरीको ईटहरी उपमहानगरपालिका–२ मा अस्थाई रुपमा बसोबास गर्ने १८बर्षीय पुरुष र सुनसरीको कोशी गाउँपालीकास्थित पश्चिम कुसाहा युनिटमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ पुष्टि भएको बुझिएको छ ।

यसअघि सोमबार पनि सुनसरीकै गढि गाउँपालिकाका एकजनालाई संक्रमण पुष्टि भईसकेको छ । आज थप दुईजनामा संक्रमण पुष्टि भएसँग सुनसरीमा तीनजनामा संक्रमण पुष्टि भईसकेको छ। धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा भएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो।

झापाको कचनकवल गाउँपालिकाका ९जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ। कोशी अस्पतालको प्रयोगशालामा उनीहरुको परीक्षण भएको थियो। सोमबार कचनकवलकै एकजनामा संक्रमण देखिएको थियो। उनकै सम्पर्कमा रहेका थप नौ जनामा संक्रमण देखिएको बुझिएको छ।

प्रदेशमा संक्रमितको संख्या ५४ पुग्दा १७ जना उपचारपछि घर फर्किसकेका छन्।

इटहरी २ र ३ मा आवागमन बन्द गर्ने इटहरी उपमहानगरपालिकाले निर्णय

इटहरी २ का एकजना युवामा संक्रमण देखिएपछि वडा नम्वर २ र सँगै जोडिएको वडा नम्वर ३ मा आवागमन बन्द गर्ने इटहरी उपमहानगरपालिकाले निर्णय गरेको छ। नगरप्रमुख प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले दुईवटा वडामा जेठ ११ गतेसम्मका लागि आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

itahari
इटहरी उपमहानगरपालिकाले सामाजिक सञ्जालमार्फत जारी गरेको सुचना

वडामा आवामगन बन्द गरेर संक्रमित युवक, युवकको परिवार र उहाँहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको खोजी शुरु गरिएको छ । बैठकले इटहरी उपमहानगरभित्रका औषधी पसल बाहेकका सबै पसल र आवत जावत बन्द गर्ने निर्णय गरेको छ । घरैमा बसेर लकडाउनको पूर्ण पालना गरि कोरोना नियन्त्रणको अभियानमा सहयोग पुर्‍याउन नगरबासीमा उपमहानगरले आग्रह गरेको छ ।

यसैबीच ती युवकले इटहरीको एक क्लिनिकमा पनि उपचार गराएको पाइएकाले नौ जना स्वास्थ्यकर्मीको स्वाव संकलन गरिएको जनाइएको छ।

(समाचार शिर्षकमा प्रदेश एकमा संक्रमितको संख्या ५४ हुनुपर्नेमा अन्यथा पर्न गएकोमा सच्याईएको छ-सम्पादक)