ईलाम/ ईलामको देउमाई ६ शान्तीडाँडामा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरी पक्राउ परेकी छन्। स्थानीय २५ बर्षीया शुष्मा राई हत्या आरोपमा पक्राउ परेकी हुन् ।

सोमबार बेलुका ८ बजे खाना खाएर घरमा बुबासँग गफ गरेर बसिरहेको बेला घरायसी बिषयमा बादबिवाद हुनथालेपछी राती ११ बजे शुष्माले ५१ बर्षीय बुबा फुलबहादुर राईलाई बञ्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

फुलबहादुर घरभित्र मृत फेला परेको भनि आफन्तले मंगलबार बिहान ६ बजे ईलाका प्रहरी कार्यालय मंगलबारेमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय ईलामबाट समेत घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्ठी गरेसँगै हत्यामा संलग्न शुष्मालाई जंगलमा लुकिरहेको अवस्थामा घटनामा प्रयोग भएको बञ्चरोसहित पक्राउ गरेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।