इटहरी/ सुनसरीको इटहरी १२ का देवीप्रसाद दुलालको मृत्युका बिषयमा जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै घटना बिवरण सार्वजनिक गरेको छ। मोरङ्ग प्रहरीले सोमबार(आज) अपरान्ह ४ बजे अनलाईन पत्रकार सम्मेलन गर्दै घटना बिवरण सार्वजनिक गरेको हो ।

इटहरी १२ घर भएर बिराटनगर महानगरपालिका १० मधुमारा चोक बस्ने देवी पाथीभरा फार्मेसीका सञ्चालक ३३ बर्षीय दुलालको सिराहाको लहान १० पडहरिया टोल घर भई बिराटनगर ४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने २१बर्षीय ब्रहमदेव साह (मृतककै फार्मेशीबाट ५ महिना अघि निकालिएका), इटहरी १२को २०बर्षीय सोनु साह र मृतककी श्रीमती मिना श्रेष्ठ (दुलाल)ले देविप्रसादको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

hatya-photo-itahari
मृतक दुलाल तस्विर श्रोत सामाजिक सञ्जाल

घटना बिवरण अनुसार जेठ ४ गते बिहान करिव ३ बजे देवीप्रसाद दुलाललाई उपचारको लागि बिराटनगर गोल्डेन अस्पताल पुर्‍याउदा दुलालको मृत्यू भएको सम्बन्धमा एक नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीद्वारा अनुसन्धान गरेको र मृतकले सञ्चालन गरेको देवी पाथीभरा फार्मेसीमा स्टाफको रुपमा ४बर्ष अगाडी देखी काम गर्ने गरेको ब्रहमदेव साह, सोनु साह र मृतककै श्रीमती मिनाले दुलालको हत्या गरेको तथ्य अनुसन्धानबाट खुल्न आएको मोरङ्ग प्रहरीले जनाएको छ ।

मृतक र उनकी श्रीमती बीचको सम्बन्ध राम्रो नभएकोले मनमुटाव झैझगडा हुँदै आएकोमा मिना र ब्रह्मदेवको योजना अनुसार जेठ ३ गते करिव साढे १० बजे ब्रह्मदेव र सोनु मृतकको डेरामा आएको र श्रीमतीले ढोका खोलेपछी दुवैजना घरमाथी चढेर राती ११ बजेतिर देवीप्रसादलाई सुतेको ठाउँमा पञ्जा लगाएर डोरीले घाँटीमा बाँधेर हत्या गरेको खुल्न आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको मोरङ्गका प्रहरी उपरिक्षक बिश्व अधिकारीले बताउनुभयो । saman

यस्तै जेठ ४ गते बिहान करिव २बजेर ५०मिनेट तिर मृतककै श्रीमतीले छिमेकी, घरबेटी र धन बहादुर काफ्लेलाई श्रीमान अचेत अवस्थामा रहेको भनेर बोलाएको र उपचारको लागी गोल्डेन अस्पताल लगेको देखिएको प्रहरीको भनाई छ ।

प्रहरीले घटनास्थलबाट ४ वटा मोवाइल, ८ वटा सिमकार्ड, पोण्ड्स पाउडरको एउटा बट्टा, एउटा कपडाको ब्याण्डेज, नाइलनको दुईटा डोरी, ८ जोर सर्जिकल पञ्जा, रगत लागेको एउटा बेडकभर, एउटा सिरानीको खोल, ब्ल्याङकेटको एउटा टुक्रा, एउटा सिक्री चुडिएर दुईटा भएको अवस्थामा बरामद गरेको जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई कर्तब्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान र कारवाही भईरहेको मोरङ्ग प्रहरीले जनाएको छ ।