सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरास्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्टले ठूलो परिमाणको लागुऔषधीसहित रोशन झालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले सोमबार बराहक्षेत्र ८बाट कोशी गाउँपालिका १ लौकहीका १९ बर्षीय झालाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले नहरको बाटोमा राखेको चेक प्वाइन्टबाट स १० प ४६९२ नम्बरको पल्सर मोटरसाइकलमा सवार झालाई बिहान ४ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका झाको साथबाट २ एमएलको एक सय पचासको दरले लिजेसीक, फेनारगन र डाइजेल्याब गरी ४ सय ५० थान इन्जेक्सन एमपुल, ६५ बोटल डाइलेक्स, २ वोटल फेन्सीडल तथा ६० वटा पत्तामा १४ सय ४० वटा इपास्मो प्रोक्सीभन क्यापसुल यसैगरी नेपाली ११ हजार ८ सय १० र भारतीय १ हजार २ सय ३० रुपैंया र एकएकवटा मोबाइल तथा घडी, यस्तै मोटरसाइकल पनि बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट चतराका प्रहरी निरीक्षक अशोक न्यौपानेले जानकारी दिनुभयो ।

पक्राउ परेका झालाई आवश्यक कारबाहीको इलाका प्रहरी कार्यलय चक्रघट्टीमा बुझाइएको न्यौपानेले बताउनुभयो ।

पक्राउ परेका झाले लकडाउनको बेला धरानको तीनकुने नाकामा प्रहरीले कडाई गरेकाले भित्री सडक हुँदै चतरा, धरानलगायतका क्षेत्रमा लागुऔषध बिक्रि गर्ने गरेको खुलेको बताइएको छ ।