बिराटनगर/ प्रदेश १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा शुरु हुने भएको छ । एसईई तयारी कक्षा बैशाख १५ गते देखि शुरु हुने भएको हो ।

एसईईको तयारी गरिरहेका बिद्यार्थीलाई लक्षित गरी सामाजिक बिकास मन्त्रालयले तयारी कक्षा सञ्चालनबारे नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग सम्झौता गरेको छ।

दैनिक १ घण्टा ४० मिनेट (एकसय मिनेट) को भर्चुअल कक्षा सञ्चालन गरिने गरी सामाजिक बिकास मन्त्रालयका सचिव रविलाल पन्थ र इटहरी प्रशारण केन्द्रका प्रमुख डा.टंक उप्रेतिबीच बिहिबार सम्झौता भएको छ । पहिलो चरणमा वैशाख १५ देखि जेठ १५ गते सम्मका लागि सम्झौता भएको छ ।

सामाजिक बिकास मन्त्रालय शैक्षिक योजना शाखाले यसको प्रसारण सामग्री बिज्ञ शिक्षकको सहयोगमा तयार गरी प्रसारण तालिका सूचित गर्ने जनाएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले तयार गरेको सामाग्रीबाट परीक्षामा सहयोगी हुने सामग्री छनोट गरिने र प्रति दिन तीन बिषयका तीनवटा कक्षा प्रशारण गरिने जनाईएको छ। samajik

दैनिक एसईई तयारी कक्षा प्रशारण हुनुअघि दैनिक १० मिनेट बिज्ञबाट बिद्यार्थीलाई बिभिन्न व्यवहारीक ज्ञानबारे जानकारी गराउने प्रबन्ध मिलाइने अनि बिद्यार्थीले बिज्ञलाई बिषयवस्तुमा आधारित राखेको जिज्ञाशा पनि कार्यक्रममा प्रशारण गरिने छ ।

हरेक दिन विहान १०बजेदेखि कक्षा शुरु हुनेछ । पहिलो सम्झौता अनुसार अङ्ग्रेजी, नेपाली, गणित, बिज्ञान र सामाजिक विषयका जम्मा ९० वटा कक्षा सञ्चालन गरिने र सम्बन्धित बिषय शिक्षकले सो कक्षामा सहभागी हुने र आफ्ना बिद्यार्थीलाई सो भर्चुअल कक्षामा सहभागि गराउने र उनीहरुका जिज्ञासालाई अनलाइन तथा टेलिफोन सम्पर्कबाट समाधान गर्न सहजीकरण गर्न समेत अपिल गरिने जनाईएको छ ।

सम्पूर्ण परीक्षार्थीलाई सो प्रशारण समयमा सहभागी भई लाभान्वीत बन्नका लागि प्रदेश एकको सामाजिक बिकास मन्त्रालयले आह्वान समेत गरेको छ ।