इटहरी/ नेकपाका नेता रामप्रसाद रिजालले राजपा र समाजवादीको एकीकरण स्वार्थले प्रेरित भएकोले दीर्घकालिन जान नसक्ने बताउनुभएको छ । गएराती एकिकरणमा समावेश भएको समाजवादी पार्टीको सहायक प्रवक्ता रहिसक्नुभएका रिजालले बिहिबार बिहान पूर्वी खबरसँगको सम्क्षिप्त कुराकानीमा रिजालले यसो भन्नुभएको हो ।

राजपासँगको एकीकरणले नयाँ पार्टी जनता समाजवादी पार्टी पहाडमा अझ कमजोर हुने निश्चित भएको नेता रिजालको तर्क छ । नेता रिजालले अशोक राई नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टीलाई उपेन्द्र यादवको मधेसी जनअधिकार फोरममा मिसाउँदा करिव ७० प्रतिशत जनमत अशोक राई पक्षधरको गुमेको दावी गर्नुभयो ।

मधेसबादी पार्टीमा जातीय बिभेद र लैंगिक बिभेदले जरा गाडेको भन्दै नेता रिजालले गएको चुनावी नतिजाले जनताले पुर्व दुबै पार्टीको एजेण्डाहरु बहिष्कार गरिसकेको दावी गर्नुभयो । यो एकिकरणले पार्टीमा संख्या बढेपनि प्रभाव झन कमजोर हुने नेता रिजालको तर्क छ ।

राजपा र समाजबादी पार्टीको एकीकरणले बर्तमान सरकारलाई कुनै असर नपर्ने दावी गर्दै नेता रिजालले यो एकताले नेकपालाई मजबूत र एकढिक्का हुन प्रेसर पुगेको र नेकपा र बर्तमान सरकार अझ बलियो हुने दावी गर्नुभयो ।

एकीकरणमा पुर्व समाजवादी भित्र बिद्रोहको तयारी स्वरुप रेणू यादवको नेतृत्वमा समाजवादी पार्टी ब्युताउने र राजपाका अध्यक्ष मण्डलका सदस्यहरु राजकिशोर यादव र अनिल झाले बहिस्कार गरी पुरानै राजपा ब्युताउने तयारी गरिरहेको नेता रिजालको भनाई छ । यो बिषय पनि अर्थपूर्ण रहेको छ ।