सुन्दरहरैचा/ मोरङको सुन्दरहरैचाका एक घरधनीले लकडाउन अवधिको व्यवसायीक सटर भाडा नलिने भएका छन्। सुन्दरहरैचा नगरपालिका ६स्थित गछियाका युवा सुवास भण्डारीको १३वटा सटरमा व्यवसाय गर्नेहरुलाई सटर भाडा मिनाहा गरेका हुन्।

बिश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न चैत्र ११ देखि जारी लकडाउनको अवधिमा बन्द भएका सटरको भाडा नलिने घोषणा गरेको भण्डारीले बताएका छन्। Pasal

लकडाउनका कारण घर बाहिर ननिस्कने अवस्थामा व्यवसाय गरेर दुईचार पैसा कमाउने नागरीकलाई सानो राहत स्वरूप आफूले यस्तो घोषणा गरेको उनको भनाई छ।

बिपत्तिको समयमा एकजनाले अर्काजनाको सहयोग गर्नु अति आवश्यक रहेको उनी बताउँछन्। यस्तै लकडाउनका कारण बिपन्न परिवारमा कोही खाना नपाउने अवस्था भए आफूले उनीहरूका लागि पनि खाद्यान्न सामाग्री समेत सहयोग गर्ने भण्डारीले जानकारी दिएका छन्।

भण्डारीले १३ वटा सटरबाट मासिक ५२ हजार भाडा उठाउने गर्दथे।