इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले छ महिना लकडाउन भएपनि कुनैपनि इटहरीबासीलाई भोकभोकै हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ। बिहिबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा मेयर चौधरीले यस्तो प्रतिबद्दता ब्यक्त गर्नुभएको हो।

प्रमुख चौधरीले भन्नुभयो “म इटहरीको मेयरको हैसियतले भन्छु छ महिना सम्म लकडाउन भएपनि हामी खाद्यान्न आपूर्ती गर्न सक्षम छौ कोही भोकै मर्नेबाला छैन।” नगरवासीलाई भोकभोकै हुन नदिन उपमहानगर आवश्यक राहत जुटाउन लागिपरेको उहाँले बताउनुभयो।

मेयर चौधरीले उद्यमी, ब्यवसायी, बैक, सहकारीलगायत नागरिक समूदायलाई सहयोगका लागि आग्रह समेत गरिएको चौधरीले बताउनुभयो। चौधरीले इटहरीमा ४० हजार घर परिवार मध्ये १५हजार सम्म घरपरिवार दैनिक ज्यालादारी गरेर गुजारा चलाउने रहेको बताउनुभयो। उनीहरु दिनभर श्रम गरेर त्यसबाट प्राप्त ज्यालाबाट बेलुका छाक टार्ने गर्छन। ती जनतालाई भोकभोकै हुन नदिन उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले सबै वडाहरुमा राहत कितरण गर्न थालिएको हो। अहिले सबै वडामा राहत बितरण जारी छ। वडामा समेत सर्वपक्षीय बैठक बसेर राहत बितरणलाई थप ब्यवस्थित गरिने भएको छ।

यसैबिच नगरप्रमुख चौधरीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ। नेपाल बैक लिमिटेड इटहरीमा रहेको कोषको खाता नम्वर 0590300000000500400(०५९०३००००००००५००४००)मा रकम सहयोगका लागि आग्रह गरिएको हो। इटहरी उपमहानगरपालिकाले ८० लाख जम्मा गरि कोष खडा गरेको हो।

(हेर्नुहोस भिडियो)