कोभिड- १९ [अपडेट]

लकडाउनमा जोगबनी नाकाबाट मात्र भित्रियो २२०० टन खाद्यान्न

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र 20, 2076

बिराटनगर/ लकडाउनको एक सातामा बिराटनगर भन्सार हुँदै जोगबनी नाकाबाट २ हजार २५८ मेट्रिक टन खाद्यान्न भित्रिएको छ। सो अवधिमा १४२ टन हरियो तरकारी र १११ टन फलफूल पनि भित्रिएको हो।

लकडाउन र नाका बन्दको कारण खाद्यान्न अभाव हुने त्रास स्थानीयमा रहेपनि भन्सारबाट सहज रुपमानै खाद्यान्नलगायतका तरकारी तथा फलफूलको आयात भइरहेको छ।

सरकारले पहिलो चरणको लकडाउन घोषणा गरेपछि खाद्यान्नको अभाव हुनेभन्दै सर्वसाधरणले आवश्यकताभन्दा बढी सामानको जोहो गरेका थिए। जस्को कारण बजारमा सामग्रीको अभाव सृजना भएको थियो।

तर लकडाउनको अवधिभर खाद्यान्नको ढुवानी भारतबाट भईरहेकाले बजारमा आपूर्ति व्यवस्था पहिलेकोभन्दा सहज हँुदै गएको भएपनि कालोबजारी गर्नेहरुले भने सामान लुकाएको कारण केही समय कृतिम अभाव श्रृजना भएको थियो।

बिराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमोरङ्ग लगायतका सम्बद्ध कार्यालयहरुको अनुगमनको कारण बजारमा आपूर्ति बिस्तारै सहज भएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख हिमालय बरालले बताउनुभयो।

खाद्यान्नलगायतका बस्तुमा अहिले बजारमा कुनै समस्या नभएको भन्दै बरालले लकडाउन लम्बिदै गएमा ग्याँसको अभाव श्रृजना हुनसक्ने बताउनुभयो। उहाँले पसल खुलाउने र कालोबजारी अनुगमन गर्ने काम गरिरहेको भन्दै खाद्यान्नको कृतिम अभाव सृजना हुन नदिन आफुहरुले अनलाइनमार्फत पनि उजुरी लिने गरेको बताउनुभयो।

उहाँले सोमवारदेखि अनलाईन सपिङका लागि गुदरी डटकम, भाटभटेनी सुपरमार्केट र आरके मललाई अनुमति दिएको बताउनुभयो। अब घरमा नै बसेर अनलाईनमार्फत खाद्यान्न, तरकारी तथा फलफूलको अर्डर गर्न सकिने र त्यो निशुल्क डेलिभरि हुनेछ।

-आर्थिक अभियानबाट


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved