सुनसरी/ आज बिश्व कोरोना भाइरस(कोभिड १९) को महामारीबाट आक्रान्त भईरहेको छ। संसारका सबै देशहरू आ–आफ्नो क्षमता अनुसार कोरोना सँग लडीरहेका छन्। चीनले आफ्नो देशमा कोरोना नियन्त्रण गरिसकेको दावी गरेको अवस्था छ भने ईटाली, स्पेन, अमेरीका, ईरान जस्तो बिकसित मुलुकहरूमा कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको छ।

युरोप जस्तो बिकसित र सम्पन्न महादेशका मुलुकहरु कोरोनासँगको लडाईमा बिजय हासिल गर्न मुस्किल परिरहेको अवस्था छ। दक्षीण एसियाको चिनको बुहान प्रान्तबाट शुरु भएको कोरोना बिश्वभरी फैलिसकेको तर एसियाकै मुलुकहरुमा भने मन्द गतीमा फैलिरहेका छ। युरोप, अमेरीका पछि कोरोना महामारीको केन्द्र दक्षिण एसियामा चीन पछिको दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा पर्ने र भारत, चीन बीचमा अवस्थित नेपाल केन्द्र बन्न सक्ने संकेत बिश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै आएको सबैमा जग जाहेरै छ। नेपाल सरकारले नेपाली जनताको स्वास्थ्यलाई र कोरोना महामारी फैलिने सम्भावनालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय उडान, आन्तरीक उडान, सवारी साधन, उधोग कलकारखा, स्कुल कलेजलगायत पुर्णरुपले बन्द गरेको छ।

सरकारले चैत्र १० गते देखि १८ गतेसम्म देश नै लकडाउन गरि सम्पुर्ण नेपालीलाई आ–आफ्नो घरमा बस्न आह्वान गरेको र पुन १८ गते देखि एकसातालाई लकडाउनको समय थप गरेको छ। यो परिस्थिति अझै महिनौ सम्म लम्बिन सक्ने अवस्था हामी सबैले बुझिराखेका छौं। गरि खाने मजदुर, ज्यालादारीहरुको लागि दुई छाक खाने ब्यवस्था मिलाउन संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई निर्देशन गरिसकेको छ। सम्भाबित कोरोना संक्रमित बिरामीहरुको उपचारको लागि आवश्यक व्यवस्था मिलाएको छ। यसको लागि सम्पुर्ण साना ठूला सरकारी अस्पतालहरु तयारी अवस्थामा छन तथापी यो पर्याप्त भने होईन। कुनै कारणबस बिरामीको संख्या तिब्र गतिमा बढ्यो वा परिस्थिति लम्बिदै जाँदा निश्चित छ कि देशको अर्थतन्त्रले धान्न मुस्किल त हुन्छ नै साथै अर्थतन्त्र नै धरासाही हुने अवस्था नआउला भन्न सकिन्न। यसै सन्दर्भमा सरकारलाई केही सुझाव तथा ध्यानाकर्षण गराउन चाहन्छु।

(१) अहिलेको अवस्थामा प्राईभेट अस्पतालहरुले सामान्य बिरामीहरु उपचारका लागि पुग्दा बिरामीहरुलाई उपचार दिने भन्दा पनि सामान्य चेकजाँच गरेर सरकारी अस्पतालहरुमा रिफर गर्ने वा अस्पतालहरुले गेटबाट नै फर्काउने समाचारहरु बाहिर आईरहेका छन। हाम्रो देशमा महामारी तिब्र गतीमा फैलिने हो र प्राईभेट अस्पतालहरुले अहिलेको प्रवृत्ति कायम राख्ने हो भने सरकारी अस्पतालहरुले मात्रै सेवा पुर्‍याउन सम्भव नै हुँदैन। सरकारले यस्तो संबेदनशिल परिस्थितिमा प्राईभेट अस्पतालहरुलाई नेपाली जनताको स्वास्थ्यमा खेलवाड नगरी उपचार गर्ने र गराउने कडा निर्देशन दिनुपर्दछ। सरकारी स्वास्थ्यकर्मीहरु भन्दा ठूलो संख्यामा रहेको प्राईभेटमा काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षा बिमा प्रदान गरि परिचालन गर्न आवश्यक छ। देश र जनताप्रति उत्तरदायी भएर सरकारले आवश्यक पर्दा सम्पुर्ण प्राईभेट अस्पतालहरुलाई सरकारीकरण गर्न तयार हुनुपर्दछ।

(२) प्रहरी प्रसाशन, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानीय युवाहरुको युनीफाईड कमाण्ड गठन गर्नुपर्दछ। कोरोनाबाट बच्ने र जनतामा सेवा पुर्‍याउने तालिमहरु प्रदान गरिनुपर्दछ र परिचालन गर्नुपर्दछ। गाउँ घरको सुरक्षा, महामारी सम्बन्धी चेतना जगाउन र सम्पुर्ण सेवाहरु घर घरमा पुर्‍याउन स्थानीय युवाहरुको जनमिलिसियाहरु गठन गर्नुपर्दछ। यदि लामो समयसम्म अहिलेको परिस्थिति हामी सामु खडा भईरह्यो भने पनि हामी र हाम्रो देशका लडिरहन सक्छौं।

(३) लकडाउनको अवस्थामा जनतालाई अति आवश्यक पर्ने खाद्यान्न, औषधी, ग्याँस, दुध आदिका पसलहरु नियमितरुपमा सञ्चालनमा रहेता पनि कृतिम अभावहरु सृजना गरि कालो बजारी गर्ने गरेको समाचारहरु आईरहेकै छ। यसलाई पुर्ण रुपले नियन्त्रण गरिनुपर्दछ। सकेसम्म स्थानीय सरकार अन्तरगत वडाहरुमार्फत सम्पुर्ण अतिआवश्यक सामानहरु जनमिलिसियाहरुमार्फत जनताको घरघरमा पुर्‍याउने व्यवस्था मिलाउनुपर्दछ।

(४) नेपालको अर्थव्यवस्थालाई धरासाहि हुनबाट जोगाउन कोरोना संक्रमण हुनबाट जोगिने बिधि अपनाउने वा खोजी गरि उत्पादन हुने क्षेत्रहरुको पहिचान गरि काममा परिचालन गर्ने व्यवस्था मिलाउनुपर्दछ।

(५) नियमीत रुपमा काम गर्ने सरकारी कर्मचारी, प्राईभेट कम्पनीहरुको कर्मचारी, मजदुर, किसानहरुको पहिचान गरि काममा परिचालन गर्ने, काममा खटिनु अगाडी र पछाडी आवश्यक चेकजाँच पछि आफ्नो क्याम्पमा जाने बस्ने व्यवस्था मिलाउनुपर्दछ। काममा खटिने बाहेकको हकमा लकडाउन पुर्ण रुपले मान्नुपर्ने व्यवस्था मिलाउनपर्दछ।

(६) सम्पुर्ण सार्वजनिक स्थलहरु, कोलोनीहरुको मुल गेट, गाउँ घरका मुख्य प्रवेशद्वार, शहरका मुख्य ठाउँहरुमा चेकजाँचको व्यवस्था मिलाउनुपर्दछ।

(७) उद्योग, कलकारखानाहरु, कार्यालयहरुमा आवश्यक अत्याधुनिक स्वास्थ्य उपकरणसहित चेकजाँचको व्यवस्था, कोरोना सुरक्षा कवचको व्यवस्था मिलाई सञ्चालनमा ल्याउनुपर्दछ।

(८) नेपाल कृषिप्रधान देश हो। कृषि उत्पादन केन्द्रिय कार्यक्रम बनाई कृषकलाई कोरोनाबाट बच्ने तरिका र आवश्यक कोरोना सुरक्षा कवज प्रदान गरी कृषि उत्पादनमा जोड दिनुपर्दछ।

(९) कोरोना जस्तो महामारी चौतर्फी रुपमा फैलिरहेको परिस्थितिमा देश र जनताको सेवाको काममा सरकारको योजना अनुरुप काममा खटिएका जो कोही नेपाली नागरीकहरुको हकमा सुरक्षार्थ बिमाको ग्यारेन्टी गरिनुपर्दछ।

(१०) आफू पनि सुरक्षित रहौँ अरुलाई पनि सुरक्षित रहन मद्दत गरौँ। यो संक्रमणकालिन अवस्थामा हामी सबै एकजुट भएर धैर्यधारण गरि सरकारलाई सहयोग गरौँ।

(प्रस्तुत लेखको लेखक सुनसरीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद रामकुमारी चौधरी हुनुहुन्छ-सम्पादक)