लेटाङ/ मोरङको लेटाङ नगरपालिकामा कोरोनाको आशंका गरिएकाहरुलाई बोक्ने एम्वुलेन्स नहुँदा हिँडाएरै अस्पतालसम्म लानुपरेको छ। नगरपालिकाले एम्बुलेन्सको व्यवस्थापन नगर्दा शनिबार एकजना बिरामीलाई हिँडाएर लानुपरेको हो।

बिदेशबाट आएका तथा ज्वरो आउने लक्षण भएका बिरामीहरुलाई अस्पतालसम्म लान एम्बुलेन्स उपलब्ध नहुँदा समस्या भएको छ। लेटाङ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष विष्णुकुमार मगरले वडामा बिदेशबाट आएकाहरुलाई कोरोनाको आशंका गर्दै अस्पतालसम्म लान खोज्दा एम्बुलेन्स नै नपाएको गुनासो गर्नुभयो।

“मेयरसावलाई फोन गरेको यसो मिलाएर लानु नी भन्नुभयो, लेखाले दिएको एम्बुलेन्सको नम्बरमा फोन नै लागेन।” वडाध्यक्ष मगरले भन्नुभयो, “तीन जनालाई लानुपर्ने थियो, एम्बुलेन्स नपाएपछि १ घण्टाको बाटो हिँडाएरै लगियो।”

यता लेटाङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र चौधरीले समेत बिदेशबाट आएकाहरुलाई चेकजाँचका लागि हिँडाएरै अस्पतालसम्म लाने गरेको स्विकार गर्नुभयो। लेटाङ बजार क्षेत्रमा तीनवटा एम्बुलेन्स रहेकोमा २ वटाले बिग्रिएको भनेकाले अर्को एउटासँग चाँहि कुरा गरिएको उहाँले बताउनुभयो।

नगरपालिकाले एउटा एम्बुलेन्सलाई सुरक्षा सामाग्री समेत दिएको भएपनि अन्य प्रकारका बिरामी बोक्न व्यस्त रहेको पाइएको छ। यता एम्बुलेन्स चालकहरु समेत ज्वरो आएको तथा कोरोनाको आशंका गरिएकाहरुलाई बोक्न डराउने गरेका छन्। ज्वरो आउनेलाई बोक्दा अन्य बिरामीलाई पनि सर्ने उनीहरुको डर छ।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोक जवेगुले समेत आफुले नगरपालिकासँग एम्बुलेन्स व्यवस्थापन गर्नुपर्ने बिषयमा कुराकानी गरेपनि व्यवस्थापन गरिएको बारे थाहा नपाएको बताउनुभयो। Covid19ds