बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका छन्।

बिश्वलाई नै आतंकित बनाईरहेको कोरोना भाईरसको उपचारमा समस्या भईरहेका बेला नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन सञ्चालक डा.शर्मा तयार हुनुभएको हो। निजी तथा सरकारी अस्पतालले अहिले ज्वरो आएका बिरामीलाई समेत उपचार गर्न नमानेर समस्या बेहोर्नु परिरहेको अवस्थामा डा.शर्माले अस्पताललाई नै कोरोना उपचार केन्द्र बनाउन दिने महत्वपूर्ण घोषणा गर्नुभएको हो। Dr.Sunil Sharma

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठुलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया छन्। समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका डा.शर्माको यो घोषणाले पूर्वी नेपालमा कोरोना संक्रमण रोकथाम र उपचारमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ।

डा.शर्माले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डा.भगवान कोइरालालाई बिहिबार पत्रसमेत पठाउनुभएको छ। शैया थप गरी १ हजार शैयासम्म सञ्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै कोरोना उपचार केन्द्र सञ्चालनका बिषयमा आवश्यक छलफलका लागि पत्रमार्फत आग्रह गरिएको छ।

कोरोना रोकथाम संयोजन समिति संयोजक डा.कोइराला जस्ता जिम्मेवार व्यक्तिसहित राज्यनै लागिपरेकाले सवैको हातेमालोले मुलुकमा चाँडै कोरोना संक्रमण रोकथाम हुने डा.शर्माको भनाई छ।