काठमाण्डौ / संयुक्त राष्ट्रसंघले विश्वमा भइरहेका सबै युद्ध रोक्न आह्वान गरेको छ। 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कोरोना भाइरसको प्रकोपसँग जुध्न सबै किसिमका युद्ध रोक्न आह्वान गर्नुभएको हो। अहिलेको अवस्था राष्ट्रसंघको ईतिहासकै खराब स्वास्थ्य संकट भएको बताउँदै अहिलेको जोखिमसँग लड्न तत्काल सबै युद्ध रोक्न आवश्यक भएको गुटरेजले बताउनुभयो। 

युद्धमा महिला र बालबालिका, अशक्त मानिस, सीमान्तकृत र विस्थापितहरू बढी समस्यामा पर्ने गरेको र कोरोना भाइरसबाट पनि यिनै वर्ग धेरै जोखिममा रहेको उहाँको भनाइ छ। 

युद्ध भैरहेका ठाउँमा स्वास्थ्य प्रणालीहरु अस्तव्यस्त हुने र त्यस्ता ठाउँमा कोरोनाको संक्रमणले खराब स्थिति ल्याउने चेतवानी दिँदै महासचिव गुटरेजले तत्काल  युद्ध नरोके खराब स्थितिको सामना गर्नुपर्ने चेतवानीसमेत दिनुभयो। 

उहाँले भाइरसको क्रोधले युद्धको मूर्खतालाई चित्रण गरेको उल्लेख गर्दै यो समय सशस्त्र संघर्षलाई लकडाउनमा राखेर मानवीय जीवनको साँचो लडाइँमा ध्यान केन्दृत गर्ने समय भएको बताउनुभयो। 

उहाँले विश्वका नेताहरुलाई तत्काल संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान पनि गर्नुभएको छ।