काठमाण्डौ / चीनपछि कोरोना भाइरसको इपिसेन्टर इटलीमा यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ। सोमबार अस्पतालमा उपचाररत थप ६ सय १ जना मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ जना पुगेको हो।

कोरोनाको इपिसेन्टर चीनले नयाँ संक्रमण हुन रोकथाम गरे पनि इटलीमा अवस्था भयावह बनेको छ। चीनमा हालसम्म ३ हजार २ सय ७७ जना मानिसको ज्यान गएकोमा इटलीमा त्यहाँभन्दा २ हजार ८ सय जना बढी मानिसको ज्यान गइसकेको छ। कोरोनाबाट ज्यान जानेको कुल संख्याको ३६.८० प्रतिशत संख्या इटलीको छ। हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय १० जना मानिसको ज्यान गइसकेको छ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढ्दो छ। पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ हजार ७ सय ८९ जना मानिसमा यसको लक्षण देखिएको छ। यहाँको कुल कोरोना संक्रमितको संख्या भने ६३ हजार ९ सय २७ जना छ। यीमध्ये ३ हजार २ सय ४ जना मानिसको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।