एजेन्सी / इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्स तथा अर्जेन्टिनाको राष्ट्रिय टिमका स्टार स्ट्राइकर पाउलो डिबाला र टालीको राष्ट्रिय टिमका पूर्वकप्तान पाओलो माल्दिनीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

डिबालाले इन्स्टाग्राम मार्फत आफू र प्रेमिकालाई कोरोना भाइरसको संक्रमण भएको तर स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिएका हुन्।

२६ वर्षका डिबालाले लेखेका छन्, ‘ओरिएना र म दुवैमा कोरोना भाइरसको संक्रमण देखिएको छ। खुशीको कुरा हामी राम्रो अवस्थामा छौँ।’

यता हाल सिरी ए क्लब एसी मिलानका प्राविधिक निर्देशक रहेका माल्दिनी र उनका छोरा डानिएललाई कोरोनाको संक्रमण पुष्टि भएको छ।

दुवैजनाको स्वास्थ्य अवस्था राम्रो रहेको एसी मिलानले जारी गरेको वक्तव्यमा उल्लेख छ। १८ वर्षका डानिएल माल्दिनी एसी मिलानबाट खेल्नका लागि प्रशिक्षणमा थिए।