फाइल तस्विर

काठमाण्डाै / सरकारले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल बनाएको छ। 

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत रहने गरी ६ वटा कार्यदल बनाउने निर्णय शनिबारको बैठकले गरेको छ।

स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरिएको छ। देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्र मन्त्रालयमार्फत काम अघि बढाइने अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताउनुभयो।

बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने छ। यसैगरी आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ। राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषि मन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ।

क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ। यस्तै निर्णय/निर्देशन कार्यान्वयनको अवस्थाका विषयमा अनुगमन गर्न रक्षा मन्त्रालयलाई जिम्मेवारी दिइएको छ। सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ।

यसैगरी भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको सञ्चार मन्त्री खतिवडाले बताउनुभयो। स्वयंसेवी रुपमा क्वारेन्टाइन राख्नका लागि घर तथा जग्गा दिनेहरुलाई पालिका र प्रदेश सरकारमार्फत सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको उहाँले बताउनुभयो।