काठमाण्डाै / कोरोना भाइरस (काेभिड–१९) काे सङ्क्रमणका कारण इटलीमा एकैदिन झण्डै आठ सय मानिसको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा थप सात सय ९३ जनाको ज्यान गएर इटलीमा ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय २५ पुगेको बीबीसीले जनाएको छ। यस्तै एकैदिन ६ हजार पाँच सय ५७ जना नयाँ बिरामी थपिएर इटलीमा सङ्क्रमितको सङ्ख्या ५३ हजार पाँच सय ७८ पुगेको छ।

सङ्क्रमणका कारण अवस्था खराब बन्दै गएपछि इटलीले लोम्बार्डी लगायतका क्षेत्रमा थप प्रतिबन्धहरु लगाएको छ। अत्यावश्यक आपूर्ति बाहेक सबै व्यवसाय बन्द गराएको छ भने मानिसलाई घरबाहिर निस्कन पनि प्रतिबन्ध लगाइएको बीबीसीले जनाएको छ।

अस्पताल, सडक र रेलमा काम गर्ने बाहेक निर्माण लगायतका सबै काम रोकिएको छ भने खुला बजारहरु पूर्णरुपमा बन्द गरिएका छन्।

यस्तै स्पेनमा शनिबार एकैदिन दुई सय ८५ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ७८ पुगेको छ। इरानमा पनि एकैदिन एक सय २३ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा फ्रान्समा एक सय १२ जना, बेलायतमा ५६ र अमेरिकामा ६८ जनाले ज्यान गुमाएका छन्। विश्वका एक सय ८८ देश र एउटा पानी जहाजमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै तीन लाख पाँच हजारमा सङ्क्रमण भएको छ।

सङ्क्रमितमध्ये ९४ हजार सात सय ९३ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा मात्र थप एक हजार ६ सय १४ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको सङ्ख्या १३ हजार २५ पुगेकाे छ।