काठमाण्डाै / कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटलीमा २४ घण्टामा ६ सय २७ जनाको ज्यान गएको छ। योसँगै इटलीमा ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्ममा चार हजार ३२ पुगेको छ। यस्तै २४ घण्टामा पाँच हजार ९ सय ८६ जनामा संक्रमण पुष्टि भएर संक्रमितको संख्या ४७ हजार २१ जना पुगेको छ।

यसैगरी, नेपालसँग खुल्ला सिमा रहेको देश भारतमा पनि संक्रमितको संख्या बढेको छ। पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएर भारतमा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने एकै दिन ४० जनामा संक्रमित पुष्टि भएर संक्रमितको संख्या दुई सय ४९ पुगेको छ।

भारत

भारतका २२ राज्यमा कोरोना फैलिएको छ। महाराष्ट्रका चार शहर मुम्बई, पुने, नागपुर र पिंपरी चिंचवड तथा छत्तीसगढको राजधानी रायपुरलाई भारत सरकारले लक डाउन गरेको छ। दिल्ली र उत्तर प्रदेशमा पनि सबै सपिङ मलहरु बन्द गरिएको छ।

अमेरिका

यस्तै, अमेरिकामा पनि पछिल्लो २४ घण्टामा ५७ जनाको ज्यान गएको छ। यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या शनिवार बिहानसम्ममा दुई सय ६४ पुगेको छ। अमेरिकामा संक्रमितको संख्या १९ हजार ६ सय ४० पुगेको छ। यस्तै इरानमा एकै दिनमा एक सय ४९ जनाको ज्यान गएर ज्यान गुमाउनेको संख्या एक हजार चार सय ३३ पुगेको छ।

स्पेन

स्पेनमा पनि शनिबार बिहानसम्ममा एक हजार ९३ जनाको ज्यान गएको छ। कोरोनाको संक्रमण सुरु भएको चीनमा पछिल्लो एक दिनमा थप सात जनाको ज्यान गएको छ। ४१ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।

चीन

चीनमा अहिलेसम्म तीन हजार दुइ सय ५५ जनाको ज्यान गएको छ भने ८१ हजार आठ जना संक्रमित मध्ये ७१ हजार ७ सय ४० जना निको भएर बिरामीको संख्या ६ हजार १३ मा झरेको छ। शनिवार बिहानसम्म १ सय ८५ देश र एउटा पानीजहाजमा गरी २ लाख ७६ हजार १०४ जना संक्रमित भएकोमा ११ हजार ४०२ जनाको ज्यान गैसकेको छ।

९१ हजार ९५२ जना उपचारपछि निको भएका अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन्।