काठमाण्डौ/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमी बाट प्रकाशित समयतालिकाअनुसार चैत्र ६ गते बिहान ८ देखि ११ बजे सम्म संचालन हुने परीक्षा चैत्र १७ गते सकिदै छ। यस परीक्षामा झण्डै ५ लाख परीक्षार्थी सहभागि हुदैछन्। बर्तमानको विद्यालय संरचना अनुसार कक्षा १देखि ८ सम्म आधारभूततह र कक्षा ९ देखि १२ सम्म माध्यमिकतह भनि परिभाषित गरिएको छ।

विगत ८ दशक भन्दा लामो समय देखि विद्यालय तहको अन्तीम परीक्षाको रुपमा कक्षा १०मा लिइदै आएकोमा एसएलसीलाई एसईईमा रुपान्तरण गरिएको छ। नयाँ व्यवस्थाअनुसार विद्यालयतहको अन्तीम कक्षा १२ मा लिइने परीक्षालाई एसएलसी मानिएको छ। विसं १९९० सालदेखि एसएलसीको रुपमा राष्ट्रियस्तरमा लिइदै आएको विद्यालयतहको एकमात्र परीक्षाको नतिजा उत्साहप्रद देखिदैन। बि.सं.१९९८ सालमा सवभन्दा बढी ७७.७८ प्रतिशत र बि.सं.२०३८ सालमा सब भन्दा घटी १६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको देखिन्छ। विगतका परीक्षाको विषयगत औसत प्राप्ताङ्क हेर्दा अंग्रेजीमा सबभन्दा घटी ३३.२४ र सबभन्दा बढी सामाजिकमा ४८.०४ भएको पाइन्छ।

शिक्षा क्षेत्रमा धेरै अभ्यास र लगानी भएता पनि विद्यार्थीको उपलब्धिमा झन ह्रास आउनु गम्भिर चिन्ताको बिषय हो। यति लामो समयसम्म विद्यार्थीको उपलब्धीस्तर ५० प्रतिसत पनि नपुग्नामा के विद्यार्थी मात्रै दोषी छन् त? वस्तुनिष्ठ अध्ययन गरी वास्तविकता पहिल्याउन अल्छी गर्नुहुन्न। उपलब्धीस्तर सतप्रतिशत पुर्‍याउन राज्य, अभिभावक, विद्यालय, विद्यार्थी र नागरिक समाजलगायतको भूमिका कस्तो हुनुपर्छ ? निक्र्यौल गर्न बिलम्ब भैसकेको छ।

परीक्षामा सम्मिलित हुने परीक्षार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन निम्न टीप्सहरुले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।
# परीक्षा तयारीको समयमा स्वस्थकर आहरविहार र सहज परिश्रमको नियमितता प्रति विशेष चनाखो रहनुपर्दछ।

# एसईईलाई हाउगुजीको रुपमा नलिई सहजरुपमा आत्मसात गरेर सकरात्मक सोच र उच्च मनोबलकासाथ परीक्षा दिने मनस्थिति बनाउनुपर्दछ ।

# मानसिक एवं शारीरिक क्षमता भन्दा बढी थकान हुनेगरी अनिंदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ। शारीरिक तथा मानसिक थकानका कारण आँफुले सोचे जस्तो जाँच दिन पनि सकिन्न भन्ने वास्तविकता प्रति हेक्का राख्नुपर्दछ।

# अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउने तर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्दछ। किनकि विगतमा कहिलेकाहीं पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका वास्तविकतालाई बिर्सनुहुन्न् ।

# कठिन महसुस गरिएका विषयलाई अलि बढी समय र महत्व दिंदै अध्ययनको दैनिक समय तालिका नै बनाएर सबै विषयलाई समानुपातिकरुपमा अध्ययन गर्नु बुद्धिमानी हुन्छ।

# सहपाठीहरुको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानीले बहुआयमिक तथा दिगो स्मरणमा रहने वास्तविकता हो।

# विगत वर्षहरुका प्रश्नहरुको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर लेखनको स्तर बारे आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न।

# परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउंछ भन्ने दृढ विश्वास एवं उच्च मनोवलकासाथ हतोत्साहित नभई परीक्षाहलमा प्रवेश गर्नुपर्दछ।

# विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिंड्नु अगाडि राम्रोसँग चेक जाँच गर्नुपर्दछ।

# परीक्षा केन्द्रको बस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहजता हुन्छ।

# प्रवेशपत्र तथा उत्तरपुिृस्तकामा लेखिएका निर्देशनहरु परीक्षा शुरु हुनु अगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ।

# उत्तर लेख्दा आफूलाई तत्काल धेरै जानकारी भएको प्रश्न क्रमशबाट लेख्न शुरु गर्नु पर्दछ।

# प्रश्नले मागेको उत्तर यकिन भए पछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखि मैलिकता झल्किने गरी बुँदागतरुपमा सफा र शुद्वसँग उत्तर लेख्नुपर्दछ।

# सबै प्रश्नका उत्तरहरु लेखिसकेपछि बचेको अन्तीम समयमा लेखेका उत्तरहरुलाई पुन सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ।

एसईईलाई अधिकतम उपलब्धीमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ। छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरुको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण वनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी भित्र पर्दछ। यसमानेमा एसईई.अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला।

त्यस्तै विद्यालयले विद्यार्थीको रुची क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ। विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धी उच्च हुने यर्थाथता हो। एसईईको नतिजाको आधारमा विद्यालयको स्तर सरकार र समुदायमा कायम हुने भएकोले विद्यालयले आफनो हैसियत उच्च राख्ने सुनौलो अवसर पनि हो। तसर्थ आफ्ना विद्यार्थीको उपलव्धिस्तर उच्चतम बनाउन विद्यार्थीको प्रतिभाको अधिकाधिक आविष्कार गरेर परिमार्जन र परिष्कृत गर्दै तिनीहरुको विकास र विस्तार गर्ने खालको विद्यालयमा चित्ताकर्षक शैक्षिक वातावरण बनाउनुपर्दछ । बिद्यार्थीले विद्यालयमा गुणस्तरिय शैक्षिक वातावरणमा पढ्न पाए नपाएको एकिन गर्ने परीक्षा पनि हो एसईई।

प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरियताले पनि परीक्षाको नतिजालाई असर पार्दछ। अपेक्षा गरेअनुसार व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्यौल गर्दछ। यसप्रकार एसईई प्रत्यक्षरुपमा विद्यार्थीको लागि मात्र भए जस्तो लागेता पनि परोक्षरुपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको नीति–नियम कार्यव्रmम जाँच्ने कसी पनि हो।

त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकसंघलगायत विद्यालयतहको शिक्षाको जिम्मेवारी लिएका पदाधिकारीले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पुर्‍याए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्तगरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो। तसर्थ एसईई विद्यार्थीको लागि मात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावक तथा समग्र शिक्षा नीतिको प्रभावकारिता आदी जाँच्ने कसी पनि हो भन्दा अन्यथा नहोला ।

[email protected] कार्की पूर्व जिल्ला शिक्षा अधिकारी हुनुहुन्छ।