काठमाण्डौ / यसै बर्ष जुनदेखि शुरु हुने युरो कप एकबर्ष पछि सरेको छ। युरोपका १२ शहरमा जुन १२ देखि जुलाई १२, २०२० सम्म हुने भनिएको युरोकप कोरोना भाइरसको संक्रमणका कारण एक बर्ष पछि सरेको हो।

युइएफएले आज आफ्ना ५५ सदस्यको बैठक बोलाएर यस बारेमा निर्णय लिएको हो। सदस्य देशका घरेलु लिग कोरोनाका कारण प्रभावित भएपछि युरोकप सार्ने निर्णय गरेको बताइएको छ। २४ देशले भाग लिने युरोकप विश्वकप फुटबल पछि कै सर्वाधिक ठुलो फुटबल प्रतियोगिता मानिन्छ।

युरोप अहिले कोरोनाको इपिसेन्टर रहेको छ भने इटाली, स्पेन, फ्रान्स, बेलायत, स्विटजरल्याण्ड, नेदरल्याण्डस, जर्मनी, बेल्जियम लगायतका देश बढी प्रभावित देखिएका छन्। अहिलेसम्म इटालीमा २१ सय ५८ जना, स्पेनमा ४९१ जना, फ्रान्समा १४८ जना, बेलायतमा ५५ जनाले ज्यान गुमाएका छन्।