काठमाण्डौ / ‘तपाईंहरुको दबाब भनौँ कि, सदाशयता मानौँ, कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने (कुरा) भयो। तर, अहिले लाग्दैछ म कार्यकारी हुँ कि हैन।’

अस्ति पूर्वएमालेका केही नेतासहित खुमलटारको एउटा जमघटमा नेकपा अध्यक्ष दाहालले यस्तो कुरा सुनाएपछि एक आपसमा हेराहेर गर्नुबाहेक विकल्प थिएन। ‘त्यही त के गरेको होला यस्तो ?,’ एक जना नेताले आश्चर्य त प्रकट गरे, तर आश्चर्यमा चाहिँ सबभन्दा बढी दाहाल नै परेको व्यक्त भावले बुझाउँथ्यो। उहाँले भन्नुभयो, ‘बामदेवजीकै कुरामा पनि त संस्थागत निर्णय भएको हो। तर, आजसम्म कार्यान्वयन हुन सकेन।’

खुमलटारको बुझाइअनुसार सभामुख चयन र वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गर्दा आफू घेराबन्दीमा परेको महसुस गर्नाले दाहालमा निहीत कार्यकारी अध्यक्षको भूमिका खोसिएको हुनुपर्छ।

त्यसपछिका बैठकमा अरुलाई जस्तै दाहाललाई पनि बोलाइने, प्रधानमन्त्रीले आफ्ना कुरा सरसर्ती राख्ने र ‘आज कुरा यत्ति हो’ भनेर बैठक टुङ्ग्याइदिने चलन चल्यो। प्रधानमन्त्रीले नै बैठक टुङ्ग्याएपछि सचिवालय सदस्य उठ्ने भए।

‘हैन–हैन बाँकी छ’ भन्दा पनि नसुनेझैँ ओली बाटो लागेकोमा दाहालको चित्त दुखाइ रहेछ। आजको जनआस्था साप्ताहिकमा समाचार छ।