धरान / जेसीजले धरान उपमहानगरका मेयर तिलक राईलाई सम्मान–पत्रले सम्मानित गरिएको छ। धरान जेसीज वर्ष २०२० का नवनिर्वा्चित पदाधिकारीले धरान उपमहानगरका प्रमुख–उपप्रमुखसँग सोमबार शिष्टाचार भेटको क्रममा गत मङ्सिर १४ गतेको उपनिर्वाचनमा निर्वा्चित बनेका मेयर राईलाई बधाई ज्ञापन गर्दै सम्मान–पत्रले सम्मानित गरेको हो।

जेसीज वर्ष २०२० का अध्यक्ष दीपेन्द्र निरौलाले मेयर राईलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभयो। जेसीजले २०२० का लागि तयार पारेको वार्षिक कार्यक्रमको सूचीपत्रसमेत मेयरलाई हस्तान्तरण गरेको छ। जेसीजले सामाजिक तथा नेतृत्व विकासका कार्यक्रमहरू गर्दै आएकाले त्यस्ता कार्यक्रमहरूका लागि नगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने अध्यक्ष निरौलाले बताउनुभयो।

dd त्यस्तै जेसीजले हरेक वर्ष गर्दै आएको मिस एसईईका विजेतालाई नगरले सद्भावना दूतका रूपमा काम गराउन सके फलदायी हुने पनि निरौलाको भनाई थियो। धरान उपमहानगरका मेयर राईले युवाहरूको नेतृत्व विकास लगायतमा जेसीजले गर्दै आएको कामको प्रशंसा गर्दै सूचीपत्रका विषयमा विषयगत छलफल गरेर अगाडि बढ्न आफू तयार रहेको बताउनुभयो।

धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले जेसीजले विधिको शासनलाई आत्मसात गरेको पाउँदा त्यसबाट राजनीतिककर्मीहरूले पनि सिकेमा राष्ट्रका लागि हित हुने बताउनुभयो। शिष्टाचार भेटमा वर्ष २०२० का कार्यकारिणी समितिसहित धरान जेसीजका पूर्वअध्यक्षहरू समेतको उपस्थिति रहेको थियो।