एजेन्सी / अर्जेन्टिनी कप्तान लिओनल मेसीले रोनाल्डिन्होलाई जेलबाट छुट्टाउन ४ मिलियन डलर खर्च गर्ने समाचारको खण्डन गरेका छन्।

नक्कली कागजात प्रयोग गरेको अभियोगमा पाराग्वेमा पक्राउ परेका ब्राजिली लिजेण्ड फुटबलर  रोनाल्डिन्होलाई जेलबाट मुक्त गराउन ४ मिलियन डलर खर्च गर्ने समाचार मेसीले अस्वीकार गरेका हुन्।

गत साता पक्राउ परेका रोनाल्डिन्हो र उनका भाइ हाल पाराग्वेको जेलमा रहेका छन्। र, मेसीले पूर्व सहकर्मी रोनाल्डिन्होलाई जेलमुक्त गराउन मोटो रकम खर्च गर्ने समाचार बाहिरिएको थियो।

तर, मेसीले भने त्यसलाई अस्वीकार गरेको इंग्लिस मिडिया द सनले जनाएको छ। मेसीले रोनाल्डिन्होको अवस्थामा सहानुभूति जनाएपनि आर्थिक सहयोग नगर्ने जनाएको बताईएको छ।

मेसीले स्पेनिस क्लब बार्सिलोनामा रोनाल्डिन्होसँग सँगै खेलेका थिए। रोनाल्डिन्हो एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा पराग्वेकाे रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोपुगेको स्थानीय प्रहरीले बताएको छ।

उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय भएको थियो। ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो। ३९ वर्षीय रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन।