काठमाण्डाै / प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि मङ्गलबार प्रदेशसभामा मतदान हुँदैछ। नाम र राजधानीका लागि प्रदेशसभाका सांसदले गोप्य मतदान गर्ने र त्यसअघि छलफल गर्ने तयारी रहेको प्रदेश २ का सभामुख सरोजकुमार यादवले जानकारी दिनुभयो।

प्रदेशसभामा नामाकरणसम्बन्धी तीन वटा प्रस्ताव दर्ता भएका छन्। सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन्। यस्तै नेकपाले प्रदेशकाे नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ भने काङ्ग्रेसले मिथिला राख्नुपर्ने प्रस्ताव दर्ता गराएकाे छ।

प्रदेशकाे राजधानी भने जनकपुरधामलाई बनाउनुपर्नेमा सबै दलको सहमति छ। यद्यपि वीरगञ्ज आसपासका केही सांसदले वीरगञ्जलाई राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता गराएका छन्। नाम र राजधानी तोक्न दुई तिहाइ बहुमत आवश्यक भए पनि यो कुनै दलसँग छैन।

प्रदेश २ मा एक सय सात जना सांसद रहेकोमा सङ्घीय समाजवादी पार्टीका ३०, राजपा नेपालका २५, नेकपाका ३२, काँग्रेसका १९ सांसद छन्।

यसअघि नाम र राजधानी सहमतिमै टुङ्गो लगाउन र प्रस्तावमाथि छलफल गर्न सभामुख सरोजकुमार यादवको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिए पनि दलहरुबीच सहमति हुन नसक्दा मतदान हुन लागेको हो।