काठमाण्डौ / कोरोना भाइरस संक्रमणका कारण स्पेनिस फुटबल प्रशिक्षकको ज्यान गएको छ। ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको शनिबार ज्यान गएको हो।

गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्यमा समस्या आएपछि गार्सियामा ल्युकोमियासँगै कोरोना संक्रमण भेटिएको थियो। लगत्तै उनलाई मलागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। तर चिकित्सकले उनलाई बचाउन सकेनन्। कोरोना संक्रमणबाट मलागा क्षेत्रमा शिकार हुने उनी पहिलो युवा र पाँचौं व्यक्ति हुन्।

गार्सियाले सन् २०१६ देखि एट्लेटिको पोर्टाडा एल्टाज युवा टिमको म्यानेजरको भूमिका निर्वाह गरेका थिए।