काठमाण्डौ / युरोपियन फुटबल महासङ्घ (यूईएफए)ले 'युरो कप २०२०' को मिति एक वर्ष पछि सार्ने तयारी गरेको बताइएको छ। युरोपका धेरै फुटबल सङ्घले यूईएफएसँग प्रतियोगिता एक वर्ष सार्नका लागि पत्र पठाएको 'द सन'ले जनाएको छ।

पछिल्लो पटक युरोपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण अर्को वर्षको गर्मीसम्मका लागि युरो कप सार्न अनुरोध गरेको बताइएको छ। यूईएफएले भने यसअघि निर्धारित मितिमा नै प्रतियोगिता हुने बताउँदै आएको थियाे।

प्रतियोगिता सार्ने, नसार्ने भन्ने विषयकाे निर्णय यूईएफएका प्रमुख एलेक्सान्देर सेफेरीनले गर्ने द सनले जनाएको छ। आउँदो जुन १२ देखि जुलाइ १२ तारिखसम्म हुने प्रतियोगिताका लागि यूईएफएले टास्कफोर्स तयार गरिसकेको छ।

युरो कपको ६० औं वार्षिकाेत्सवकाे अवसरमा आयाेजना हुने युराे कप २०२० विभिन्न १२ देशमा गरिनेछ। काेराेनाकाे उच्च प्रभाव परेकाे इटाली समेत युराे कपकाे आयाेजक देशकाे रुपमा रहेकाे छ।