काठमाण्डौ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले देशको आवश्यकताका कारण टुक्रिएर रहेको राप्रपा एक ढिक्का भएको बताउनुभयो। बुधबार आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को एकता घोषणा सभामा उहाँले देशभरका कार्यकर्ताले एक हुन आह्वान गरेका कारण पार्टी एक भएको उल्लेख गर्नुभयो।

जनताले कम्युनिष्ट र कांग्रेसको विकल्प खोजेको छ भन्दै अध्यक्ष राणाले दुवै पार्टीले गर्न नसकेका काम राप्रपाले गरेर देखाउने बताउनुभयो। पार्टी एक भएर मात्र नपुग्ने र यसका लागि जनताको भावनालाई समेटेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। सम्पूर्ण प्रजातन्त्रवादी शक्तिलाई एक भएर अघि बढ्न अध्यक्ष राणाले आग्रह गर्नुभयो।

‘चानचुने उद्देश्यले एक भएका होइनौँ, मुलुकमा ठूलो फेरबदल ल्याउन एकता गरेका हौँ’, उहाँले भन्नुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सानोतिनो झगडा र भागबण्डामा अल्झेको र भूमिकाविहीन अवस्थामा रहेको अध्यक्ष राणाले आरोप लगाउनुभयो।

raprapa राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कार्यकर्ताको प्रेरणाका कारण पार्टी एकता भएको बताउनुभयो। विश्वभरिका हिन्दूको आस्थाको केन्द्र नेपाललाई बनाउनसके मुलुक आर्थिक रूपमा बलियो हुने उहाँको भनाइ थियो। प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेकामा उहाँले कांग्रेसको आलोचना गर्नुभयो।

अर्का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कांग्रेसपछिको तेस्रो शक्तिका रूपमा राप्रपाको एकीकरण भएको उल्लेख गर्नुभयो। ‘एकताबाट देशले बलियो राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति प्राप्त गरेको छ, जनताले विकल्प खोजेकाले एक हुनुपर्‍यो’, उहाँले भन्नुभयो। विसं २००७ यता वामपन्थी र कांग्रेस हावी हुँदै आएको र अब सो स्थान राप्रपाले लिने उहाँको भनाइ थियो।

raprapaa पार्टी एकता घोषणासभामा पूर्वप्रधानमन्त्री एवं राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले आफ्नो वर्षौंदेखिको चाहना पार्टी एकता भएको भन्दै खुशी व्यक्त गर्नुभयो। मुलुकको अवस्था सन्तोषजनक नभएको उहाँको भनाइ थियो। मुलुक बलियो बनाउने उद्देश्यका साथ पार्टी हाँक्न उहाँले नेतृत्व पङ्क्तिलाई सुझावसमेत दिनुभयो।

कांग्रेसको भूमिका नदेखिएकाले जनताले त्यसको विकल्पमा राप्रपालाई हेरेको आफूले पाएको पूर्वप्रधानमन्त्री चन्दको भनाइ थियो। कार्यक्रममा नेता दीपक बोहरा, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, रीना गुरुङलगायतले सम्बोधन गरेका थिए।