काठमाण्डाै / अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले विद्रोही १५ सय जना तालिबानी कैदीलाई रिहा गर्न स्वीकृति दिएका छन्। 

अशरफ घानीले स्वीकृति दिएसँगै रिहा हुन लागेका कैदीहरुले १५ दिनभित्र अब कुनै पनि युद्धमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाउनुपर्ने भएको छ। तालिबानले आफ्नो नियन्त्रणमा रहेका एक हजार सरकारी व्यक्ति रिहा गर्न सहमति जनाइसकेको छ।

अमेरिका र तालिवानबीच भएको शान्ति सम्झौतामा अफगान सरकारले विद्रोही कैदी र तालिबानले आफ्नो नियन्त्रणमा रहेका सरकारी व्यक्ति छाड्ने सहमति पनि भएकाे थियो।

सुरुमा अफगान राष्ट्रपति घानीले विद्रोही कैदी नछाड्ने बताएको भए पनि दोस्राे कार्यकालका लागि सपथ लिएपछि कैदी छाड्न सहमति जनाएका हुन्। सम्झौताअनुसार अमेरिकाले मङ्गलबारदेखि नै आफ्ना सैनिका फिर्ता लैजाने काम सुरु गरेको छ। 

अफगान सरकार र तालिबानबीच कैदीबन्दी रिहाइको लागि निरन्तर वार्ता हुने र वार्तामा प्रगति भएमा हरेक दुई हप्तामा पाँच सयलाई रिहा गर्ने अफगान सरकारले जनाएको छ। पछिल्ला प्रगतिहरुले अफगानिस्तानमा लामो समय चलेको युद्ध शान्तिमा परिणत हुने आशा गरिएको छ।