काठमाण्डौ / उत्तर कोरियामा कोरोना भाइरसबाट १ सय ८० जना सैनिकको ज्यान गएको जनाइएको छ। दक्षिण कोरियाको डेली एनकेले मंगलबार सैनिक स्रोतलाई उद्धृत गर्दै कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण जनवरी महिनामा मात्र १ सय ८० उत्तर कोरियाली सैनिकको ज्यान गएको र फेब्रुअरीमा झन्डै ३ हजार सातसय सैनिकलाई क्वारेन्टिनमा राखिएको जनाएको छ।

समाचारमा जनाइएअनुसार ज्यान गएका सैनिकहरू चीन र उत्तर कोरियाको सीमाक्षेत्रमा खटिएका थिए। सैन्य नेतृत्वले ब्यारेकहरूमा जिम्मा पाएका अस्पताल उच्च ज्वरो, निमोनिया, टिबीका कारण मर्ने सैनिकहरूको विवरण मागेपछि यो तथ्य सार्वजनिक भएको हो।

सैनिक नेतृत्वले अहिले क्वारेन्टिनमा रहेका सैनिकको विवरण पनि मागेको छ। अस्पतालहरूलाई ज्यान गुमाएकाहरूको शव जलाउन पनि भनिएको छ। उत्तर कोरियाले अहिलेसम्म कोरोना भाइरसको प्रभावबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन।