एजेन्सी / च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीबीचको खेल बन्द रंगशालामा हुने भएको छ।

बार्सिलोनाले प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण नापोलीविरुद्धको खेल दर्शकविनाको बन्द रंगशाला खेल्ने निर्णय लिएको जनाइएको छ।

च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगअन्तर्गत नापोली र बार्सिलोनाले खेल्दैछन्। १८ मार्चमा हुने यस खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ।

यसअघि नापोलीको मैदानमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए।

सोमबार अर्थात् आजको समाचारपत्र एल‘इस्पोर्टिउका अनुसार क्याटलोनिया सरकारले कोरोना भाइरसको त्रासका कारण सो खेल दर्शकविनाको बन्द रंगशालामा खेल्ने निर्णय गरेको हो। यसबारे अघिल्लो शनिबार एक बैठक गरी अन्तिम निर्णय लिइएको थियो।

च्याम्पियन्स लिगअन्तर्गत भ्यालेन्सिया र अटलान्टाबचिको खेल पनि बन्द रंगशालामा हुनेछ।

यसै साता यी दुवै क्लबले कोरोना भाइरसको कारण आफूहरूले बन्द रंगशालामा खेल्ने निर्णय गरेका हुन्।