काठमाण्डौ / नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेट टीमका लागि विदेशी प्रशिक्षक खोज्ने काम जारी रहेको बताउनुभएको छ।

सचिव प्याकुरेलले विदेशी प्रशिक्षक राख्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग कुरा भइरहेको बताउनुभयो।  

अहिले नेपाल एक दिवसीय मान्यता प्राप्त टीम भएकोले त्यसैअनुसारको प्रशिक्षकको खोजीमा संघ रहेको प्याकुरेलले बताउनुभयो। अर्को प्रसङ्गमा उहाँले नेपाली टीमको प्रदर्शनबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो।  

कीर्तिपुरमा भएको त्रिकोणात्मक सिरीज र हालै थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टी २० मा नेपालले गरेको प्रदर्शनका विषयमा समीक्षा गरिने प्याकुरेलको भनाइ छ। क्रिकेटमा आजैको मेहनतले आजै नतिजा नआउने प्रष्ट पार्दै उहाँले विगतको मेहनतले नेपाली टीमले नतिजा हासिल गरेको बताउनुभयो।

तर यसबीचमा क्रिकेट संघ नहुँदा र घरेलु क्रिकेटको संरचनाको अभावमा नयाँ खेलाडीहरु आउन नसक्नु दुर्भाग्यपूर्ण भएको सचिव प्याकुरेलले भन्नुभयो।  

‘खेल हो, हारजित हुनु स्वभाविक हो। तर अहिले नेपाली टीमले क्षमताअनुसार प्रदर्शन नगरेको देखिन्छ। अब टीम व्यवस्थापन र क्रिकेट संघ बसेर गम्भीर समीक्षा गर्नुपर्छ,’ उहाँले भन्नुभयो। 

‘क्रिकेट संघ नहुँदा टीमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकै थियो। नतिजा राम्रो आएकै थियो।  संघ नभएर के भयो भन्नेको जमात पनि त्यतिबेला थियो।’ भन्दै प्याकुरेलले संघ निलम्बनमा पर्दा त्यतिबेला प्रभाव नपरेको तर त्यसको असर अहिले देखिन थालेको बताउनुभयो।