एजेन्सी / अफगानस्तिानमा एकै दिन दुईजनाले राष्ट्रपतिको शपथ लिने तयारी गरेका छन्। वर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले सोमबार राष्ट्रपतिको शपथ लिने भन्दै बेग्लाबेग्लै निमन्त्रणा जारी गरेका हुन्। केही दिनअघि देशको निर्वाचन आयोगले गत वर्षको सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा घानी विजयी भएको घोषणा गरेपछि सोमबार बिहानका लागि उनको शपथग्रहण समारोह तय भएको थियो।

निर्वाचनमा धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्दै आएका अब्दुल्लाहले समानान्तर शपथग्रहण समारोहका लागि देशभित्र र बाहिरका उच्चपदस्थ व्यक्तित्वसहित कूटनीतिज्ञलाई निम्तो पठाएको उनका प्रवक्ताले शनिबार बताएका छन्। ‘हामीले सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंगठनलाई निमन्त्रणा पठाएका छौं र शपथग्रहणका लागि सबै तयारी पूरा भएको छ,’ अब्दुल्लाहका प्रवक्ता फ्राइदुन ख्वाजुनले भने, ‘काबुलमा सोमबार बिहान हुने घानीको शपथकै बेला अब्दुल्लाहको पनि शपथ हुनेछ।’

अब्दुल्लाह र उनको गठबन्धनले राष्ट्रपतीय चुनाव आफूहरूले जितेकाले सरकार बनाउने बताउँदै आएका छन्। राष्ट्रपति घानीका प्रवक्ता सेदिक सेद्दिकीले भने गत वर्षको चुनावको आधिकारिक विजेता आफूहरूको भएको जिकिर गरेका छन्। ‘चुनावको समय सकिसकेको छ र देशको संविधानअनुसार स्वतन्त्र निकाय निर्वाचन आयोगले घानीले राष्ट्रपतीय चुनाव जितको प्रमाणपत्र पनि जारी गरिसकेको छ,’ सेद्दिकीले बताए।

पुराना राजनीतिक प्रतिद्वन्द्वी घानी र अब्दुल्लाहले अमेरिकी सक्रियतामा यसअघिको सरकारमा शक्ति बाँडफाँट गरेका थिए। यसअनुसार घानीले राष्ट्रपति र अब्दुल्लाहले विशेष रूपमा बनाइएको प्रमुख कार्यकारीको पद लिएका थिए। युद्धग्रस्त अफगानिस्तान लामो समयदेखि घानी र असरफबीचको राजनीतिक खिचातानीबीच गुज्रिरहेको छ। समानान्तर सरकारको चेतावनीले अमेरिकी सरकार र विद्रोही तालिवानबीच फेब्रुअरी २९ मा भएको शान्तिसम्झौतालाई नै जोखिममा पार्ने देखिएको छ।

राष्ट्रपति घानी आफैं वार्ताको नेतृत्व गर्न चाहन्छन् भने कार्यकारी अब्दुल्लाहको पनि त्यस्तै दाबी छ। दुई परम्परागत राजनीतिक प्रतिद्वन्दीको विवादले १८ वर्षे लामो गृहयुद्ध रोक्ने अपेक्षा गरिएको शान्तिसम्झौता तार्किक निष्कर्षमा नपुग्नेतर्फ सचेत गराउँदै काबुलस्थित विभिन्न देशका कूटनीतिज्ञले वार्ता र छलफलमार्फत समस्याको समाधान गर्न घानी र अब्दुल्लाहलाई आग्रह गरेका छन्।