एजेन्सी / स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी यो सिजनको सुरुआतबाटै चोटसँग जुध्दै आएका छन्। सिजनको सुरुआतमा करिब दुई महिना चोटले खेल्न नसकेका उनी अहिले पनि पूर्ण रूपमा फिट नरहेको बताइन्छ। तर, उनी नियमित रूपमा खेलिरहेका छन्।

टोलीका दुई प्रमुख खेलाडी लुइस स्वारेज र उसामान डेम्बेले यो सिजनभरका लागि घाइते भएपछि मेस्सीमाथि फरवार्ड लाइनको चर्को दबाब छ। जसका कारण पूर्ण फिट नहुँदा पनि उनी लगातार खेलिरहेका छन्। अर्का फरवार्ड एन्टोनी ग्रीजम्यान चल्न नसक्दा झनै दबाब छ।

यसैबीच, बार्सिलोनाका लिजेन्ड खेलाडी रिभाल्डोले क्लबले मेस्सीको हेरचाह गर्न नसकेको आरोप लगाएका छन्। हालै एक अन्तर्वार्तामा कुरा गर्दै उनले मेस्सी टिमका प्रमुख खेलाडी भएको र उनको फिटनेस तथा हेरचाहमा क्लबले लापरबाही गरिरहेको रिभाल्डोले बताए। ‘मेस्सी अहिले १०० प्रति फिट छैनन्। उनी शारीरिक र मानसिक रूपमा पनि ठीकठाक देखिँदैनन्,’ रिभाल्डोले भने।

रिभाल्डोले अघि थपे, ‘मेस्सीजस्ता खेलाडीलाई टोलीमा ठीकठाक राख्न क्लबले सधैं सावधानी अपनाउनुपर्छ। उनको हरेक कुरामा ध्यान दिनुपर्छ। तर, क्लबका अधिकारी र प्रशिक्षकले बेवास्ता गरेको स्पष्ट देखिन्छ। जसका कारण मेस्सी पूर्ण रूपमा फिट छैनन् भने मानिसक रूपमा पनि उनी समस्यामा देखिन्छन्। सबैभन्दा ठूलो कुरा अहिले क्लबको ड्रेसिङ रुम ठीक अवस्थामा देखिँदैन।’

रिभाल्डोले पछिल्लो समय मेस्सी चोटका बाबजुत खेलिरहँदा क्लबले उनलाई केही खेलमा आराम दिएर उनको उत्कृष्ट प्रदर्शन र योगदानको फाइदा लिनुपर्नेमा क्लबले ठूलो गल्ती गरिरहेको बताए। ‘यदि मेस्सी चोट बोकिरहेका छन् भने उनलाई केही खेलमा आराम दिनुपर्छ। र, उनलाई पूर्ण रूपमा फिट बनाउन पर्खिनुपर्छ,’ रिभाल्डोले भने, ‘अनि मात्रै उनको स्तरअनुसारको प्रदर्शनको फाइदा क्लबले लिन सक्छ।’

रिभाल्डोले टोलीका दुईजना प्रमुख खेलाडी घाइते भएको अवस्थामा मेस्सीमाथि लगातार दबाब बनाउने हो भने मेस्सीले राम्रो गर्न नसक्ने बताए। ‘मेस्सी मैदानमा कहिल्यै पनि दबाब झेल्न सक्दैनन्। उनी दबाबमा खेल्न सक्ने खेलाडी होइनन्। स्वारेज र डेम्बेले घाइते हुँदा उनीमाथि दबाब छ, त्यसमा पनि उनी फिट छैनन्,’ रिभाल्डोले भने, ‘मेरो विचारमा उनलाई अहिले आरामको आवश्यकता छ। उनलाई केही खेलमा आराम दिएर त्यसपछि उनको जादुयी पुनरागमनको प्रतीक्षा गर्नुपर्छ।’

हालकै अवस्थामा बार्सिलोनाले कुनै पनि उपाध जित्न नसके रिभाल्डोले बताए। ‘यदि मेस्सी ठीकठाक नरहने र उनले सधैंझैं एकनासले आफ्नो प्रदर्शन दिन नसक्ने हो भने बार्सिलोनाले यसपालि केही पनि जित्नेछैन, उनीहरूलाई हरेक खेल र प्रतियोगिता चुनौतीपूर्ण हुनेछन्।’