काठमाण्डौ / स्पेनिस ला लिगामा रियल मड्रिड रियल बेटिससँग पराजित भएको छ। पराजयका कारण रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। 

रियल बेटिसको मैदानमा भएको खेलमा रियल मड्रिड २-१ ले पराजित भएको थियो। घरेलु मैदानमा रियल मड्रिडलाई हराउनका लागि बेटिसका सिड्नेई र टेल्लोले एक/एक गोल गरेका थिए। खेलको ४० औं मिनेटमा सिड्नेईले गोल गर्दै रियल बेटिसलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्तिम समयमा रियल मड्रिडका लागि करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरेका थिए। तर, ८२ औं मिनेटमा टेल्लोले गोल गर्दै बेटिसलाई फेरी अग्रता दिलाएपछि रियल मड्रिडले पराजय भाेग्नु परेकाे हाे। 

बेटिससँगकाे हारसँगै रियल मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा दुई अङ्कले पछि परेको छ। शीर्ष स्थानको बार्सिलोनाको ५८ अङ्क छ भने रियलको ५६ अङ्क छ। रियल बेटिस भने ३३ अङ्क बनाएर तीन स्थान माथि उक्लिदै १२ औं स्थानमा पुगेको छ।