काठमाण्डौ / भारतमा पर्यावरण सम्बन्धित अभियानमा सक्रिय रहेकी आठ वर्षीया बालिका लिसिप्रिया कञ्गुजमले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रस्ताव अस्विकार गरेपछि चर्चामा आएकी छन्।

लिसिप्रियाले ट्वीट गरेर प्रेरणादायी महिलामा आफूलाई राखेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिदै धेरैपटक सोचेपछि सम्मान अस्वीकार गर्ने निर्णय गरेको बताएकी बीबीसीले जनाएको छ।

उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय शान्ति बाल पुरस्कारबाट सम्मानित भएकी थिइन। भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई सम्मान गर्ने क्रममा लिसिप्रियालाई पनि मनोनयन गरेको थियो।

बालिकाले आफ्नो प्रशंसा र सम्मानको सट्टा संसदमा आफ्ना मागबारे छलफल गर्न आग्रह गरेकी छिन। उनले प्रधानमन्त्री मोदी र सांसदसँग जलवायु परिवर्तनसँग सम्बन्धित कानुन बनाउन माग गरिरहेकी हुन।

लिसिप्रियाको प्रतिक्रियाप्रति कतिपयले सामाजिक सञ्जालमा उनको प्रशंसा गरेका छन् भने केहीले भारत सरकारको अपमान गरेको बताएका छन्।