काठमाण्डौ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र १४ औं महाधिवेशनको बिषयलाई लिएर गुट परिवर्तन र महाधिवेशन केन्द्रित नयाँ समीकरणहरू बन्ने क्रम जारी छ।

यसै सिलसिलामा भर्खरै सिटौला गुट परिवर्तन गरेर पौडेल पक्षमा भित्रिएका नेपाली कांग्रेसका युवा नेता गगन थापालाई पौडेल पक्षबाट महामन्त्रीको उम्मेदवार बनाउने तयारी गरिएको स्रोतले जनाएको छ।

कांग्रेस भित्र तेस्रो धारको नेतृत्व गरिरहेका सिटौला समूहमा आफ्नो भविष्य सुनिश्चित नदेखिएको भन्दै युवा नेता थापा र प्रदीप पौडेलले सिटौला समूह छाडेको हल्लाले कांग्रेसभित्र अहिले सानोतिनो भुइचालो नै गएको बताइन्छ।

गत शनिबार र सोमबारको पार्टी सभापतिको निर्णयको बिषयलाई लिएर यसको समर्थन र विरोधमा कांग्रेस भित्र आन्तरिक कलह झाँगिएको छ। पार्टी सभापतिको सो निर्णयको सिटौला समूहले समर्थन गरेको थियो भने पौडेल पक्षले विरोध गर्दै आएको छ।

सिटौलाले पार्टी सभापतिको निर्णयको समर्थन गरेपछि युवा नेताहरू गगन र प्रदिप पौडेल समूहमा आएको पौडेल पक्षको दावी छ। त्यसको लागि गगनलाई महामन्त्रीको उम्मेदवार बनाउने बचन दिएपछि मात्रै गुट परिवर्तन भएको पौडेल पक्षका एक नेताले जानकारी दिए।

पौडेल पक्षबाट १४ औं महाधिवेशनबाट महामन्त्री बन्ने सम्भावना भने बढेर गएको बताइन्छ।