एजेन्सी / साउदी अरबमा शाही परिवारका तीनसदस्यलाई हिरासतमा लिइएको छ। तीनजनामाथि सत्ताका लागि षड्यन्त्र रचेको आरोप छ। यसमा राजा सलमानका भाइ प्रिन्स अहमद बिन अब्दुलअजीज अल सउद र भतिजो प्रिन्स मोहम्मद बिन नाएफ समावेश छन्। रोयल गार्डले तीनजनालाई नै उनीहरुको घरबाट पक्राउ गरेको हो।

साउदी युवराज मोहम्मद बिन सलमानको आदेशमा उनीहरुलाई पक्राउ गरिएको जानकारीमा उल्लेख छ। सलमानले यसका लागि कडा कदम उठाउन सक्ने अनुमान गरिएको छ। अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले स्रोतको हवाला दिँदै रिपोर्टमा आरोपीलाई हिरासतमा राखिएको दाबी गरेको छ जबकी न्यूयोर्क टाइम्सले पनि गिरफ्तारीको जानकारी दिएको छ।

टाइम्सले प्रिन्सका छोरा नवफ बिन नाएफलाई पनि पक्राउ गरिएको दाबी गरेको छ। साउदी परिवारको तर्फबाट यसबारे अहिलेसम्म कुनै टिप्पणी गरिएको छैन। सलमानले सत्तामा आफ्नो पकड बलियो बनाउने उद्देश्यसहित यस्तो कदम उठाएको बताइन्छ। राजाले उनलाई सन् २०१६ मा सत्ताको उत्तराधिकारी घोषणा गरेका थिए।

सलमानमाथि पत्रकार खग्गोसीको हत्या आरोप

मोहम्मद बिन सलमानमाथि इस्तानबुलमा सरकारी वाणिज्य दूतावासमा सरकारको आलोचक तथा वासिङ्टन पोस्टका पत्रकार जमाल खग्गोसीको हत्याको आरोप छ। यद्यपि, उनले सो आरोप अस्विकार गरिसकेका छन्। सन् २०१८ मा सो हत्याकाण्डमा साउदीको एक अदालतले पाँच व्यक्तिलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय तोकेको थियो। तर शाही परिवारका कोही पनि व्यक्तिलाई जिम्मेवार देखाइएको थिएन।

यस्तै, राजकुमार अहमद खग्गोसीको हत्यालगत्तै लण्डनबाट साउदी अरब फर्किएका थिए। कतिले यसलाई सत्तामाथिको नियन्त्रणको रुपमा हेरेका थिए। जून सन् २०७ मा युवराज मोहम्मद बिन सलमानले पूर्व युवराज प्रिन्स नाएफलाई पाखा लगाउँदै अरब देशको सत्तामा कब्जा जमाएका थिए।