काठमाण्डौ / चीनमा कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसको परीक्षण गर्न क्वारेन्टाइनका लागि प्रयोग गरिएको होटल भत्किँदा ६ जनाको ज्यान गएको छ। 

होटल भत्किँदा अन्य २८ जना सम्पर्कविहिन भएका छन्। ३८ जनाको भने उद्धार गरिएको चिनियाँ अधिकारीहरुले जनाएका छन्। फुजियानको दक्षिणी प्रान्तको ग्वान्झावोमा रहेको पाँच तले होटल भत्किएको हो। 

यो होटलमा कोरोना सङ्क्रमितसँगको सम्पर्कमा रहेका व्यक्तिलाई निगरानीमा राख्ने गरिएको थियो। अहिले पनि हराइरहेकाहरुको खोजी तथा उद्धारको काम भइरहेको बीबीसीले जनाएको छ।

भवन भत्कनुको कारण खुलेको छैन। ग्वान्झावोमा अहिलेसम्म ४७ जनामा कोरोनाको पुष्टि भएको छ। ८० कोठाको होटल सन् २०१८ मा खोलिएको हो। 

फुजियान प्रान्तमा दुई सय ९६ जनालाई कोरोना भएको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका १० हजार ८ सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको बीबीसीले जनाएको छ। 

अरु देशमा कोरोना भाइरस फैलिएपछि चीनमा कोरोनाका कारण ज्यान गुमाउनेसँगै सङ्क्रमित हुनेको सङख्या घट्दै गएको छ। गएको २४ घण्टामा चीनमा ४५ जना नयाँ बिरामी भेटिएका छन् भने २७ जनाको ज्यान गएको छ।

चीनमा अहिलेसम्म ८० हजार ६ सय ९६ जना सङ्क्रमित भएकामा ५७ हजार एक सय ६ जना उपचार पछि निको भएर घर फर्किएका छन्। २० हजार ४ सय ९३ अहिले पनि उपचाररत छन् भने ३ हजार ९७ जनाको ज्यान गएको छ।