लक्ष्मी गौतम/ अन्तराष्ट्रिय श्रमिक महिला दिबस (८ मार्च) संसारभरका महिलाको महत्वपूर्ण दिनको रुपमा मानिन्छ। सन १९१० मा कोपनहेगनमा समाजवादी महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरियो। यही सम्मेलनमा महिलामुक्ति आन्दोलनकी नेतृ क्लारा जेटकिनले मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव गर्नुभयो। सम्मेलनले उहाँको प्रस्तावलाई एकमतले पारित गर्‍यो। आठ मार्चलाई बिश्वभर महिलामुक्ति र समानताको आन्दोलनको रूपमा मनाउन थालियो । ८ मार्चलाई बिश्वभरका श्रमिक महिलाले मुक्ति आन्दोलनका रुपमा मनाउन थालेको ६५ बर्षपछि संयुक्त राष्ट्र संघले १९७५ मा मार्च ८ लाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन घोषणा गरेको हो।

सन १८५७,८ मार्चकै दिन अमेरिकाको कपडा उद्योगमा काम गर्ने श्रमिक महिलाले समान कामको समान ज्याला, १६ घण्टाकामलाई आठ घण्टा बनाइनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका थिए। त्यसपछि बिभिन्न देशहरुमा कारखानामा काम गर्ने श्रमिक महिला आन्दोलनका लागि संगठित हुँदै आन्दोलन गरेको गौरबपूर्ण इतिहास र हरेक बर्ष स्वतस्फूर्त रुपमा बिशाल बिरोधसभा भएका र तत्कालिन शासकहरु लाई थर्कमान बनाएर महिला अधिकार प्राप्ती गरेको दिनको रुपमा आठ मार्चलाई चिनिन्छ।

१८ घण्टा काम गर्नुपर्ने, महिलाले न्यूनज्याला मात्र पाउने, भोट हाल्न नपाउने, उम्मेद्बार बन्न नपाउने, नागरिकता नपाउने, पेटभर खान नपाउने, सुत्केरीमा आराम नपाउने र यी सब अत्याचारका बिरुद्द आवाज उठाउन नपाउने अबस्थाका विरुद्ध जुट्न र लड्न सक्ने हिम्मत प्राप्ती भएको दिन हुनाले यो दिन महिलाका लागि अत्यन्तै महत्वपूर्ण पर्वको रुपमा लिइन्छ। रुस, अमेरिका, अफ्रिका, बेलायत जस्ता ठूला र शक्तिशाली मानिएका मुलुकबाट सुरुवात हुँदै संसारभर यसको प्रेरणाले महिला आन्दोलन अगाडि बढेको छ र सार्थक भएको छ।

११० औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिबससम्म आइपुग्दा जुन समयमा यो दिन को शुरुवात भयो आज बिश्व महिला आन्दोलन त्यही अबस्थामा छैन। निकै अगाडि बढेको छ। नेपालमा भने यसलाई पञ्चायती ब्यबस्थामा केही घरानिया महिलाले भोज भतेर र रमाइलो गरि नारी दिबसको रुपमा मनाए पनि प्रगतिशिल महिलाले त्यस्ता गतिबिधीले महिला अधिकार प्राप्ती हुदैन भन्दै महिला अधिकारको आवाज उठाउदै २०३६,३७ सालदेखि श्रमजीवि महिलाका बीचमा यसको महत्व र नेपाली महिला आन्दोलनसँग जोडेर मनाउन थालियो। साँच्चै नै ८ मार्च महिला आन्दोलनलाई अगाडि बढाउन कोसेढुङा बन्दै गयो। ३७ सालमा काठमाण्डौ, पोखरा, हेटौंडा, दमक, नेपालगञ्जलगायतका ठूला शहरहरुमा एकैपटक विशालसभा र र्‍याली गरि मनाउदै गर्दा तत्कालिन प्रशासनले दमन गरि धेरै महिला गिरफ्तार भए, जेलजीबन समेत बिताएका छन। कठोर यातना सहेर पनि जेल भित्र र बाहिरबाट महिला आन्दोलन झन तेज गतिमा अगाडि बढेको इतिहास छ।

अखिल नेपाल महिला संघले देशभर यो आन्दोलन को नेतृत्व गर्‍यो। मलाई याद छ दमकको विशाल र्‍याली र र्‍यालीपछि दमक वहुमुखी क्याम्पसमा भएको सभामा म पनि सहभागी थिए। सभा पुरै चल्न नदिई पञ्चायती सरकारले दमन गरि मञ्चमा आगो लगाएको थियो त्यतिवेला भागेर घर गएको घटना ताजै छ। ती कठोर र कष्टपूर्ण दिन अहिले छैनन् त्यसको प्रतिफल नेपाली महिला आन्दोलनको उचाई सगरमाथा झै अग्लो छ। संविधानमा महिला अधिकार सुनौला अक्षरमा लेखिएका छ्न। महिलामैत्री कानुन निर्माण भएका छन्। तीनैतहको सरकारमा हाराहारी महिला नेतृत्वले काम गरिरहेका छन्। यो अबस्थामा अहिले पनि ८ मार्चको सान्दर्भिकता झन बढेर गएको छ। महिला माथी हुने बिभिन्न प्रकारका हिंसा, यातना, बलात्कार, राजनीतिक प्रतिशोध, चरीत्रहत्या जस्ता महिला हिंसाका स्वरुप फेरिएका छन्। झन आपराधिक गतिबिधी बढ्दै जाने खतरा छ।

राजनीतिमा आपराधिकरण बढ्दै गएको छ। भ्रष्टाचारले सिमा नाघेको छ। महिला भ्रष्टाचारको बिरुद्दमा आवाज उठाइरहेका छन्। हिजो घरभित्रको काममा सिमित महिला आज बिभिन्न कार्यालय, सेना, प्रहरी सुरक्षा निकाय, सामाजिक कार्य, सहकारी, महिला समूह, पत्रकारलगायत काममा कामकाजी जीवनमा ब्यस्त भएका छन्। सबै क्षेत्रमा नेतृत्वदायी भुमिका निर्बाह गरिरहेका छन्। यसले पुरुषको तुलनामा महिला नेतृत्व अब्बल हुँदै स्थापित भएका छ्न्। गलत र संकुचित सोच भएका ब्यक्तिलाई महिला नेतृत्व सहन गारो भएको महशुष हुन थालेको छ। महिला माथी झन हिंसा थपिदै छ। महिला हिंसा न्यूनिकरणलगायत महिला शिक्षा महिला स्वास्थ, महिला स्वरोजगार नै समृद्धिको आधार बन्न सक्छ त्यतातर्फ अबको यात्रा अगाडि बढ्नुपर्छ। महिलालाई शीप र स्वरोजगारका कार्यक्रमका लागि अझै धेरै काम गर्न जरुरी छ जसले गर्दा महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकियोस। राष्ट्रपतिदेखि वार्ड वार्ड सम्म महिला निर्वाचित भएर काम गरिरहँदा कतिपय दुर दराजमा महिलाका समस्या ज्यूँ का त्यूँ छन् त्यसैले पितृसत्तात्मक सोच र चिन्तन बिरुद्द फेरि एकपटक सम्पूर्ण पक्षका महिला जुट्न जरुरी छ। यी सबै बिषयमा हिम्मतका साथ अगाडि बढ्न नेपाली महिला नेतृत्व तयार हुनुपर्छ। यो अबस्थामा ८ मार्चको सान्दर्भिकता अझ बढेको छ।

देशभर महिलाले निर्बाह गरेको भुमिका, कुशलता, कार्यशैली इमान्दारिताको मुल्यांकन गर्न पितृसत्तात्मक सोच र मनोबिज्ञान भएको नेतृत्व तयार छैन। बरु उल्टै सार्बजनिक रुपमा भ्रष्टाचार अनियमितता अनैतिकतामा मुछिएका पुरुषहरुलाई स्थापित गर्ने गलत मनोबिज्ञान ब्याप्त छ। त्यसलाई परास्त गर्नु आजको नेपाली महिला आन्दोलनको प्रमुख कार्यभार हो भन्ने आम नेपाली महिलाले अनुभुती गरेका छन्। यो बर्षको ८ मार्चले यो कार्यभार पुरागर्ने सन्देश बोक्न सकोस धेरै धेरै शुभकामना।

(गौतम इटहरी उपमहानगरपालिकाकी उपप्रमुख हुनुहुन्छ।)