एजेन्सी / बलिउड अभिनेता शाहरूख खान डेढ वर्षपछि चलचित्रमा फर्कने भएका छन्। गत वर्ष आफ्नो चलचित्र ‘जिरो’ व्यावसायिक रूपमा पूर्ण असफल भएपछि उनले केही समय चलचित्र नगर्ने बताएका थिए। तर, अब भने उनले चलचित्रमा अभिनय गर्ने भएका छन्।

यतिबेला अभिनेता शाहरूख खान र निर्देशक राजकुमार हिरानी नयाँ चलचित्रको तयारीमा जुटेका छन्। हिरानीको चलचित्रको स्कृप्ट आफूलाई मन परेको र उनीसँग काम गर्ने चाहना भएको पनि शाहरूखले बताएका छन्। तर, हिरानीको चलचित्रमा आफ्नो एग्रिमेन्ट हुन बाँकी रहेको यी अभिनेताको कथन छ।

निर्देशक हिरानीले शाहरूखलाई नयाँ चलचित्रको लागि करिना र काजोलमध्ये जो नायिका राख्दा पनि हुने बताएका छन्। यी दुईबाहेक अरू नायिकालाई यो चलचित्रमा लिँदा हुने पनि यी निर्देशकले शाखरूखलाई बताएका छन्। तर, आफूले हिरानीको चलचित्रमा काम गर्दा कुन नायिकालाई लिने भन्ने निर्णय शाहरूखले गरेका छैनन्।

अभिनेत्री करिनाले पनि निर्देशक राजकुमार हिरानीले नयाँ चलचित्र बनाउन लागेको बताए पनि आफूलाई शाहरूखको नायिकाको रूपमा प्रस्ताव नगरेको प्रस्ट पारेकी छन्। शाहरूखसँग आफूले काम गर्न चाहेको पनि करिनाको भनाइ छ। प्रस्ताव आयो भने आफूले हिरानीको चलचित्रमा काम गर्ने पनि यी अभिनेत्रीको कथन छ। शाहरूख चलचित्रमा फर्कन लागेकोमा करिनाले खुसी व्यक्त गरेकी छन्।