इटहरी / कोरोना भाइरसको संक्रमण हुने भएको कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता धमाधम अनिश्चितकालको लागि स्थगित हुन थालेको छ। प्रतियोगिता रोक्न राष्ट्रिय खेलकुद परिषदले निर्देशन दिएको हो। एभरेस्ट प्रिमियर लिग स्थगित भएको छ। फिफा विश्वकप छनोट खेलपनि सर्ने भएको समाचार आजको अन्नपूर्ण पोष्टमा छ।

१३ र १८ चैत्रको लागि तय भएको फिफा विश्वकप छनोट खेल सर्ने भएको हो। कोरोनाको जोखिमको कारण अस्ट्रेलिया नेपाल आउन नसक्ने जनाएको छ। उसले खेल सार्न एएफसीलाई निवेदन दिएको छ।

यस्तै त्रिभुवन विश्वविद्यालयले तय गरेको विभिन्न तहका परीक्षा सार्न विद्यार्थीहरुले दबाब दिएका छन्। सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैत्र भित्र सक्न निर्देशन दिएपछि त्रिविलाई पनि दबाब बढेको छ। स्नातकोत्तर तह पहिलो वर्षको परीक्षा ७ चैत्रदेखि, एक वर्षे बिएडको परीक्षा ९ चैत्रबाट सुरु हुने तालिका रहेको छ। १४ चैत्रबाट एलएलबी दोश्रो वर्षको परीक्षा सुरु हुने तय भएको छ।