इटहरी/ झापामा प्रहरीले लागूऔषध ओसारपसारबिरुद्धको कारबाहीलाई व्यापक बनाएको छ। प्रहरीले लागूऔषध ओसारपसारबिरुद्धको कारबाहीलाई आक्रामक बनाएपछि झापाबाट माघ र फागुन महिनाको आजसम्ममा २९जनालाई पक्राउ गरिसकेको छ।
प्रहरीले लागूऔषध ओसारपसारबिरुद्धको कारबाहीलाई जत्ति नै आक्रामक बनाएपनि कारोबारीले तस्करी गर्न भने छाडेका छैनन्। कारोबारीले बरु नयाँ–नयाँ शैली अपनाएर तस्करी गर्ने कोशिश गरिरहेका छन्। हिजो बुधबार मात्र प्रहरीले यस्तै नयाँ शैली प्रयोग गरेर लागूऔषध भित्र्याउन खोज्ने अर्जुनधारा–११ का २३ बर्षीय समिर माझी र २२ बर्षीय सुरज माझीलाई नियन्त्रणमा लियो।
पक्राउ परेका माझीद्वयले फुलकोपीमा लुकाएर ४ दशमलव ५ग्राम ब्राउनसुगर तस्करी गर्न खोजेका भएपनि प्रहरीको सावधानी अनि आक्रामक कारबाहीका कारण उनीहरुको योजना सफल हुन पाएन। उनीहरुमाथि लागूऔषध ऐन अन्तरगत जिल्ला अदालत झापाबाट म्याद थप गरेर बिस्तृत अनुसन्धान थालिएको झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिनुभयो।
यस्तै आज बिहिबार मात्र झापाको काँकडभिट्टा ६ भन्सार मुलगेट अगाडी मोटरसाईकल चेकचाँच गर्ने क्रममा मोटरसाईकलको ट्यांकी भित्र प्लाष्टिकमा पोको पारेर लुकाई राखिएको अवस्थामा २६ग्राम ब्राउनसुगरसहित ईलाम चुलाचुली गाउँपालिका ४का २७ बर्षीय निशान राई र झापाको दमक १का २४बर्षीय रोशन पोदार पक्राउ परेका छन्।
यसैगरी झापाको बुद्दशान्ती गाँउपालिका ४ का २१ बर्षीय अमिर लिम्बु १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परे। आफ्नै मुखभित्र प्लास्टिकमा पोको पारेर ब्राउनसुगर राखेको अवस्थामा पक्राउ परेका हुन्। फागुन ९ गते राती साढे ८ बजे काँकडभिट्टा सिमा एरियाबाट लिम्बुलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो। बिहिबार अपरान्ह सवा ३ बजे को ९ प ३६३१ नम्बरको मोटरसाईकलमा सवार भई आएका दुबैजनालाई नियन्त्रणमा लिई मोटरसाईकल चेकचाँच गर्ने क्रममा मोटरसाईकलको ट्यांकीभित्र प्लाष्टिकमा पोको पारेर लुकाई राखिएको २६ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ।
यस्तै हिजो दिउसो साढे १२ बजे मात्रै झापाको अर्जुनधारा ११ स्थित बसपार्क छेउको माउन्ट मेची होटलबाट लागुऔषध ब्राउनसुगरसहित पाँचथरको फाल्गुनन्द ३ का २५बर्षीय बिबेक तामाङ, २१ बर्षीय समिर लिम्बु, २४बर्षीय सन्जु चेम्जोङ, १८ बर्षीय दिपेन नेम्वाङ, झापा अर्जुनधारा ६ का १८बर्षीय रोशन गुरुङ र ईलामको देउमाई नगरपालिका २ का २० बर्षीय सन्तोष तामाङ ३९ ग्राम, २९ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्। पक्राउ परेका ६जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको छ।
यस्तैगरी फागुन ७ गते झापाको काँकरभिट्टा सिमाढाट एरियाबाट २ ग्राम ब्राउनसुगरसहित बिर्तामोड ६ बस्ने १९ बर्षीय मनिस लिम्बु र ताप्लेजुङ मिक्वाखोला ७ बस्ने २४बर्षीय मुकेश थलङ पक्राउ परे। अपरान्ह साढे ३ बजे भारतको पानीट्यांकीबाट मे ११ प ६२८६ नम्बरको स्कुटरमा आईरहेका उनिहरु ब्राउनसुगरसहित पक्राउ परेका हुन्।
यस्तै फागुन ८गते झापाको मेचीनगर नगरपालिका १० टिकापुरबाट १०० ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका १० का ३८बर्षीय हिरालाल राजवंशी पक्राउ परे। बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले राजबंशीलाई पक्राउ गरेको हो।
फागुन ३ गते झापाको मेचीनगर ६बाट भारतीय नागरिक ३२ बर्षीय सपन अधिकारी ५ ग्राम ब्राउनसुगरसहित पक्राउ परे। सिमाएरियामा चेकजाँच गर्ने क्रममा भारत जलपाईगुडी डिष्ट्टिक धुपगाछी घर बताउने अधिकारीलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले समातेको हो।
माघ १७ गते लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ६का २६ बर्षीय प्रदिप थापा मगरलाई ५ ग्राम लागुऔषध ब्राउनसुगरसहित बुट्टाबारीबाट पक्राउ गर्यो। यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोडको कृष्ण हल छेउबाट झापा हल्दिवारी ४ का २१बर्षीय सौगात मगर र २१ बर्षकै बिबेक राई एवं हल्दिवारी ३ का २४बर्षीय सन्तोष चुडाललाई ३ ग्राम ब्राउनसुगरसहित पक्राउ गर्यो।
यस्तै माघ ७ गते दिउसो ३ बजे झापाको बिर्तामोडबाट १६ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका १३की २१ बर्षीया रोशनी तामाङ, सोही ठाउँका २३बर्षीय बिवेक तामलिङ सुब्बा र सिन्धुपाल्चोकका २०बर्षीय राजेन्द्र शिवाकोटीलाई ईलाका प्रहरी कार्यालय अनारमनिले पक्राउ गर्यो।
यस्तै माघ ४गते झापाको बिर्तामोड नगरपालिका ३बाट २७ ग्राम ब्राउनसुगरसहित बिर्तामोड नगरपालिका २का २६बर्षीय बिकास उप्रेती र बिर्तामोड नगरपालिका ३ का सुवास तामाङ पक्राउ परे। बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनिहरुले प्रयोग गरेको मे ३ प ८९८ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो।
यस्तै माघ ३ गते झापाको कन्काई नगरपालिका ३ सुरुङगाबाट ३५ग्राम ब्राउनसुगरसहित मोरङको उर्लावारी नगरपालिका १ का २५ बर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका ३ का ३९बर्षीय राजन प्रसाद उप्रेती पक्राउ परे। बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय सुरुंगाको प्रहरी टोलीले सुरुङगाकै एक होटलबाट उनिहरुलाई पक्राउ गरेको थियो।
यस्तै सोहिदिन झापाको बिर्तामोड नगरपालिका १ पश्चिम बसपार्कबाट १० ग्राम ब्राउनसुगरसहित दमक नगरपालिका ३ का ३५बर्षीय सनबिर तामाङ र फिदिम नगरपालिका २ की २०बर्षीया अञ्जना ढुंगानालाई बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्यो। यस्तै त्यहिदिन बिर्तामोड नगरपालिका ५ कृष्णहल छेउबाट ८ ग्राम ४५ मिलिग्राम ब्राउनसुगरसहित भद्रपुर नगरपालिका २ का२८बर्षीय दिनेश माझी पक्राउ परे।
यस्तै फागुन १६ गते लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका ६बाट डाईजेपाम २६ ट्याब्लेट, फेनारागन २६ ट्याब्लेट र लुपिजेसिक २६ ट्याब्लेटसहित कमल गाउँपालिका ५ का २३बर्षीय मनिष धिमाललाई पक्राउ गरेको छ। यस्तै माघ २६गते झापाको मेचीनगर ६ भन्सार गेटबाट लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका २ का २१बर्षीय मुस्कान फुयाललाई डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल र फेनारगन ६० एम्पुलसहित पक्राउ गर्यो।
यसैगरी सुनसरी प्रहरीले माघ महिनामा नाईट्राजेपाम ३० ट्याब्लेट, गाँजा ५ केजी ३२५ ग्राम, स्पास्मोप्रोक्सिबन, २७९ क्याप्सुल, एभिल २२, डाईजेल्याब २२, लुपिजेसिक २२ सहित १२ जनालाई पक्राउ गरेर मुद्वा चलाएको छ। फागुनको आजसम्ममा एभिल ६०, डाईजेल्याब ६०, लुपिजेसिक ६०, डाईलेक्स डिसि खालि ११बोतल, नाईट्राभेट ३६ट्याब्लेट, स्पास्मोप्रोक्सिबन ५९४ क्याप्सुल, नाईट्रोसन १५ट्याब्लेटसहित ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक बिनोद शर्माले जानकारी दिनुभयो।
यस्तै मोरङ प्रहरीले माघ महिनामा स्काफ १४ बोतल, एस.पि.५०१ क्याप्सुल, डाईजेलाभ १६८ एम्पुल, एभिल १४५ एम्पुल, लुपिजेसिक १४१ एम्पुल, फेनारगन १० एक्पुल, नाईट्रोभेट २९५ ट्याब्लेट, नाईट्रोसन २० ट्याब्लेट, नाईट्रोजेपाम २७० ट्याब्लेट, गाँजा ६२५ ग्राम, चरेश ६० ग्रामसहित ३५जना पक्राउ गरेको छ। फागुन महिनामा डाईजेल्याव १६८ एम्पुल, एभिल १७६एम्पुल, लुपिजेसिक १७६एम्पुल, फेनारगन १५० एम्पुल, गाँजा ५२० ग्राम, एस.पि ८ क्याप्सुल, नाईट्राभेट १० एम्पुलसहित ११जनालाई पक्राउ गरेको छ।