जनकपुर / धनुषाको सबैला नगरपालिका –१२, रघुनाथपुरबाट हत्या गरेका आरोपमा पाँचजनालाई पक्राउ गरिएको छ। शुक्रबार साँझ रघुनाथपुरस्थित सडकमै झगडा गर्ने युवालाई सम्झाउन गएका स्थानीय ५१ वर्षीय सोनेलाल पुलामीमाथि नै आक्रमण भएको हो।

झगडा गर्ने युवाहरुले बाँसको भाटाले टाउकोमा हानेपछि ढलेका पुलामीको उपचारको लागि जनकपुर ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएपछि सो घटनामा संलग्न छ मध्ये पाँचजनालाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।

पक्राउ पर्नेमा सबैला –१ निवासी १९ वर्षीय कपिल सदा, सोही उमेर र स्थानका अशेष यादव, २३ वर्षीय धर्मदेव राउत र २४ वर्षीय जितेन्द्र राउत तथा वडानम्बर ४ का १९ वर्षीय सोनु भन्ने मोनु यादव रहेका छन्।

घटनामा संलग्न पुष्टी भएको सबैला १ का २० वर्षीय अमरजीत राउत तथा अर्को पहिचान हुन नसकेको एकजना फरार रहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्चार्ज इन्सपेक्टर चन्द्रभुषण यादवले जानकारी दिनुभयो।

हत्यामा संलग्न अभियोगमा पक्राउ परेका सबैले अपराध स्वीकार गरिसकेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका इन्चार्ज एसपी रमेश बस्नेतले उनीहरु विरुद्ध कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाइसकेको बताउनुभयो। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।