काठमाण्डौ / तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएको बिहिबार एक वर्ष पुगेको छ। गत वर्ष फागुन १५ गते ताप्लेजुङको चुहान डाँडामा हेलिकप्टर दुर्घटनामा परी तत्कालीन मन्त्री अधिकारीसहित सातजनाको निधन भएको थियो।

एक अन्र्तवार्तामा स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले यो एक वर्ष आफ्नो लागि अत्यन्तै कष्टकर भएको बताउनुभएको छ। उहाँले भन्नुभयो ‘संसारका सबैभन्दा धेरै मायाँ गरेको मान्छे रवीन्द्र हो’। निर्वाचनमा जाने समयमा पनि आफूले रवीन्द्रको धेरै साथको अभाव महशुस गरेको उहाँको भनाई रहेको थियो।

आज पनि परिवारका सबैजना जम्मा हुँदा उहाँको अभाव सधै खड्किरहन्छ उहाँले भन्नुभयो। विद्याले गत फागुन १५ गतेको दिनलाई यसरी स्मरण गर्नुभयो , ‘त्यो दिन मलाई आज पनि कहाली लाग्छ। म त्यो दिन पनि काममा थिएँ म काममा भएका बेलामा केहि अपुष्ट समाचार आए। मलाई फोन आउन थाले फोनमा एकजनाले अपुष्ट समाचार प्राप्त भएको छ म पनि बुझ्छु तपाई पनि नआत्तिकन बुझ्नुस भन्नुभयो। मलाई डर लागेर मैले फेसबुक पनि खोलेर हेर्न सकिन। साँझ पाँच बजे घटनाको पुष्टि भयो’।

‘त्यो दिन बिहान म शारिरिक व्यायम गर्दै थिएँ। उहाँ बिहानै उठ्नु भयो। अनि उहाले म दिउँसो आउछुसंगै खाजा खाउँला भन्नुभएको थियो। सधै उहाँ बाहिर जाने समयमा शुभयात्रा भन्ने गरेकीँ थिए तर त्यो दिन शुभयात्रा पनि भन्न पाइँन। आज पनि रवीन्द्र हुनुहुन्न भनेर भन्दा मलाई धेरै गार्‍हो हुन्छ त्यसैले आज पनि संगै हुनुहुन्छ भनेर भ्रममा बाँचिरहेकी छु’।