काठमाण्डौ / सरकारले विद्यालयमा पढाउन एक हजार पाँच सयजना शिक्षक माग गरेको छ। शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि शुक्रबार आवेदन माग गरेको हो।

स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले http://doe.gov.np मा जागिरका लागि निवेदन दिन सक्ने जनाइएको छ। अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउँछन्। यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) पनि नचाहिने जनाइएको छ।

आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वंयसेवक शिक्षक पठाउने गरी केन्द्रले तयारी शुरू गरेको जनाएको छ। ‘आजदेखि आवेदन खुलाइएको छ,’ केन्द्रका महानिर्देशक तुलसीप्रसाद खतिवडाले भन्नुभयो।

विद्यार्थी संख्या धेरै भएका तर आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयमा स्वंयसेवक शिक्षक राख्न लागिएको उहाँले जानकारी दिनुभयो। केन्द्रले शिक्षक छानेको विवरण सम्बन्धित स्थानीय तह र विद्यालयमा पठाएपछि सो शिक्षकलाई विद्यालयले नियुक्ति दिनेछन्।

देशका ७५३ स्थानीय तहमध्ये ६६८ तहमा शिक्षक अभाव छ। ‘मूल विषय अंग्रेजी, गणित, विज्ञान पढेकाले जागिर पाउँछन्। शिक्षक अभाव कम गर्न टेवा पुग्ने विश्वासका साथ स्वयमसेवक शिक्षक योजना अगाडि सारिएको हो,’ खतिवडाले भन्नुभयो।

‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो। स्वयमसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत माघ २९ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि पनि तयार भइसकेको छ।

सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार छ भने भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार छ। स्नातकोत्तर पढेकाको तलब केही धेरै रहेको जनाइएको छ। उनीहरूको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार हुने स्वंयसेवक परिचालन कार्यविधि २०७६ मा उल्लेख छ। शिक्षकहरूले प्राविधिक धारका शिक्षा विस्तार गरेका विद्यालयमा पनि पढाउन पाउने छन्।

चैतभित्र केन्द्रबाट स्थानीय तहमा शिक्षकको विवरण पुग्नेछ। विद्यालयबाट नियुक्ति लिएको सात दिनभित्र पढाउन हाजिर नभए नियुक्ति स्वतः बदर हुने जनाइएको छ। ‘यस्ता शिक्षकको एक विद्यालयबाट अर्कोमा सरूवा हुँदैन। जागिर छाड्नु परे दुई महिना अगाडि नै जानकारी दिनुपर्नेछ,’ उहाँले भन्नुभयो।

स्वंयसेवक शिक्षकले सातामा २४ पिरियड पढाउनु पर्ने जनाइएको छ। यस्ता शिक्षकले महिनामा एक दिन भईपरी आउने र पर्व बिदा लिन पाउँछन्। तर बिना सूचना १५ दिनसम्म अनुपस्थित रहे प्रधानाध्यापकले स्वंयसेवकलाई जागिरबाट हटाउन सक्ने जनाइएको छ।