काठमाण्डौ / सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन्। सिन्धुली घर भई काठमाण्डौ बसेर कक्षा १२ मा पढ्दै गरेकी एक किशोरीलाई बलात्कार गरेको पाइएपछि प्रहरीले घलेलाई पक्राउ गरेको हो।

काठमाण्डौ नयाँबजार जान बनेपामा बस पर्खेर बसेकी किशोरीलाई घलेले सम्बन्धित ठाउँ पुर्‍याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा हालेर ल्याएका थिए। बनेपाबाट काठमाण्डौ आउने क्रममा उनले आफू राज्यमन्त्री मानन्धरको सल्लाहकार भएको, अमेरिकाको ग्रिन कार्ड भएको र पत्नीसँगै परिवारका अन्य सदस्यसमेत अमेरिकामै भएको बताएर आफूतर्फ आकर्षित गरेका थिए।

ती किशोरीलाई समेत अमेरिका पठाइदिने आश्वासन दिएर गत माघ २७ गते आफ्नो फ्ल्याट टोखामा लगेर तीन दिनसम्म बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो।

किशोरीले फागुन १ गते गोप्य रुपमा यस घटनाबारे परिवारलाई बताएपछि सोही सूचनाका आधारमा घलेलाई पक्राउ गरिएको र युवतीको उद्दार गरिएको बोगटीले बताउनुभयो। पक्राउ परेका घलेविरुद्ध अपहरण तथा शरीर बन्धक र बलात्कार मुद्दामा अनुसन्धान भइरहेको छ। उनले बलात्कार गर्ने बेला भियग्रासमेत खाएको खुल्न आएको छ।