कास्की / युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले मासिक भत्ताको प्रबन्ध गरेको बताउनुभएको छ। 

मन्त्री विश्वकर्माले पोखरा महानगरपालिका १७ काे दोविल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सहारा एकेडेमीको मङ्गलबार अवलोकन पनि गर्नुभयाे। उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई जीवनभर मासिक पाँच हजार रुपैयाँ तथा ओलम्पिकमा सहभागीलाई मासिक चार हजार रुपैयाँका दरले भत्ता प्रदान गर्ने नीति सरकारले बनाएको उल्लेख गर्नुभयो।   

सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउँदै उहाँले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का विजेता खेलाडीलाई दिइने पुरस्कारबापतको रकम मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेकाले खेलाडीले खेल कौशल प्रदर्शन गरेर नै जीवन निर्वाह गर्ने अवस्था आएको स्पष्ट पार्नुभयो।   

उहाँले भन्नुभयो, 'खेलाडीलाई मासिक भत्ता दिने कार्य एउटा सुरुवात हो। उहाँहरुलाई हौसला प्रदान गर्नका लागि बढीभन्दा बढी सुविधा र सम्मानको योजना सरकारले बनाएको छ। खेलाडीले खेलेर नै जीवन सुनिश्चित हुने अवस्था निर्माण हुँदैछ।'   

सहारा एकेडेमीले आफ्नो मेहनत र लगानी तथा देश विदेशबाट सहयोग जुटाएर फुटबल खेल विकास तथा सामाजिक क्षेत्रमा गरेको योगदानबाट गौरवको अनुभूति भएकाे उहाँले बताउनुभयाे। मन्त्री विश्वकर्माले एकेडेमी भवन तथा खेल मैदानका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाउनुभयो।

एकेडेमीमा अहिले देशका विभिन्न १४ जिल्लाका २४ बालकले आवासीयरुपमा निःशुल्क स्वास्थ्य, शिक्षा तथा फुटबल प्रशिक्षण गर्दै आएका छन्।

मन्त्री विश्वकर्माले मङ्गलबार नै पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको निरीक्षण गर्दै अहिलेसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिनुभएको थियो। साथै आगामी नवौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधारका बारेमा समेत उहाँले जानकारी लिनुभयो। पोखरा फुटबल रङ्गशालामा अहिलेसम्म ८५ प्रतिशत कार्य सम्पन्न भएको छ।