धरान / धरान ८ स्थित श्री हिमालय महायान रिन्छेन् छ्योलिङ बुद्धिष्ट गुम्बामा सिठो ल्हाछो अर्थात शान्तिदेव र क्रोधदेवको चित्र कोरिने भएको छ।

चित्र निर्माणका लागि लक्ष्मीप्रसाद मोक्तान संयोजक, मणिकुमार मोक्तान कोषाध्यक्ष र सदस्यहरु मैतबहादुर गोले, हर्क गोले, विष्णु मोक्तान, केवी बल र हर्क योन्जन रहेको सात सदस्यीय समिति गठन गरिएको गुम्बाका अध्यक्ष हर्क गोलेले बताउनुभयो।

लामा धर्ममा मानिसको दिमाग, मन, आत्मा र शरीरसंग सम्बन्धित विभिन्न ४२ वटा शान्तिदेव र ५८ वटा क्रोधदेव गरी १०० वटा देउताहरु हुन्छन् जसलाई लामा भाषामा ‘सिठो ल्हाछो’ भनिन्छ र ती देवताहरुलाई स्वर्गारोहण भएको ३ दिनमा मानिसको दिवंगत आत्मा सपनाजस्तोवाट व्युंझिएपछि एक/एक गरेर देख्दै जाने धार्मिक विश्वास रहिआएको गुम्वाका खेन्पो तेन्जिङ वाइवाले बताउनुभयो।

यीनै शान्तिदेव र क्रोधदेवका कारण मानिसको मन, दिल र दिमागमा क्रोध र शान्ति उत्पन्न हुने, विभिन्न सकरात्मक, नकरात्मक विचारहरु छिनछिनमै आउने आदि हुने गरेको खेन्पो वाइवाले बताउनुभयो।

एउटा देउताको चित्र कोर्न करिव दशहजार खर्च हुने अनुमान गरिएकाले कूल दशलाखको लागतमा सो चित्र कोरिन लागेको गुम्वाका संरक्षक मैतबहदुर गोले तामाङले बताउनुभयो।

देउताको चित्र निर्माणका लागि समिति गठन भएसंगै पूण्यलाभका लागि विभिन्न दाताहरुवाट दुईलाख रुपैयाँ संकलन भईसकेको समितिका सदस्य विष्णु मोक्तानले बताउनुभयो।